उपसभामुख दनुवारले लिइन् शपथ 

प्रदेश नं १ की नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।

दनुवारलाई शनिबार सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गराएका हुन्। 

सभामुख गौतमले नेपालको संविधानको धारा १८२ को उपधारा (१) तथा प्रदेश नंं १ को नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम ९ बमोजिम उपसभामुख पदमा बहुमतबाट निर्वाचित भएकी दनुवारलाई सोही नियमावलीअनुसार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

नवनिर्वाचित उपसभामुख दनुवारले आजै पदभारसमेत ग्रहण गरेकी छिन्। शनिबार बसेको प्रदेशसभाको बैठकमा उपस्थित बहुमत प्रदेशसभा सदस्यको मत पाउँदै उनी निर्वाचित भएकी थिइन्। 

दनुवारलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ९३ सदस्यीय प्रदेशसभामा उपस्थित ९० प्रदेश सांसदमध्ये ५७ जनाले मतदान गरेका थिए। उनी एमालेबाट समानुपातिक संसद हुन्।
 

प्रकाशित मिति: : 2023-01-14 21:09:00

प्रतिकृया दिनुहोस्