नेकपा (एमाले)का हिक्मतकुमार कार्कीलाई प्रदेश १ को मुख्यमन्त्रीमा समर्थन गरेर सरकारमा सहभागी नभएको माओवादी केन्द्र अन्ततः सरकारमा जाने भएको छ। यसअघि प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्ने माग राख्दै माओवादी सरकारमा सहभागी भएको थिएन्।
पार्टी केन्द्रको निर्देशनपछि बिहीबार बसेको माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।
नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि (शुक्रबार) विश्वासको मत लिँदै छन्। शुक्रबार नै माओवादीलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्ने उनको तयारी रहेको स्रोतको दाबी छ।
माओवादीले साविकको लिम्बुवान, कोचिला र किराँत राज्यबाट प्रतिनिधित्व हुने गरी सरकारमा पठाउने तयारी गरेको छ। प्रदेशमा माओवादीले तीन मन्त्रालय दावी गरेपनि एमालेले दुईवटा मात्र दिने बताएको छ।
सरकारमा कस कसलाई मन्त्री बनाउने भन्ने विषयमा यसअघि माओवादीभित्र उग्र विवाद थियो। पार्टीमा लामो समयदेखि योगदान गरेका भन्दा नयाँ आएकाहरुबाट मन्त्री दाबी गरेको भन्दै विवाद उत्पन्न भएको थियो। खासगरी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कान्छा ज्वाइँ जीवन आचार्यले मन्त्री बन्न इच्छा गरेपछि विवाद बढेको थियो।
माओवादीले केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईको नेतृत्वमा आफ्नो पार्टीलाई सरकार पठाउने माओवादी स्रोतले बताएको छ। यस्तै पार्टी अध्यक्षको दवावका कारण अर्का केन्द्रीय सदस्य जीवन आचार्यलाई सरकारमा पठाइने भएको छ।
साविकको कोचिलाबाट मोरङका गणेश उप्रेतीलाई मुख्य दाबेदारका रुपमा हेरिए पनि नेतृत्वको दवावबाट प्रदेशमा आचार्य मन्त्री बन्न लाग्दा लामो समयदेखि पार्टी राजनीतिमा लागेका उप्रेती मन्त्री बन्नबाट बञ्चित हुने भएका छन्।
माओवादीबाट दुई जना सहभागी हुने भएपछि एमालेले थप एक जनालाई मन्त्री बनाउने बताइएको छ। स्रोतकाअनुसार एमालेबाट बुद्धिकुमार राज भण्डारी मन्त्री बन्नेछन्।
यसअघि माओवादी सरकार सहभागी नभए पनि मुख्यमन्त्री कार्कीले राप्रपा र जसपालाई समेटेर सानो आकारको मन्त्रीमण्डल विस्तार गरेका थिए। कार्कीले एमालेका तिलकुमार नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्ति प्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूलाई मन्त्री बनाएका थिए। उनीहरु विना विभागीय मन्त्री बनेका हुन्।