लुम्बिनीमा मन्त्रालय भागबण्डामै मिलेन कुरा, माओवादीभित्रै पनि असन्तुष्टि

Photo-NK
Photo-NK

लुम्बिनी प्रदेशमा बिहीबार मुख्यमन्त्रीलगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भनिए पनि मन्त्रिपरिषदकाे भागबण्डा नमिलेपछि मुख्यमन्त्री लिला गिरीको मात्र शपथ हुने देखिएको छ।

मुख्यमन्त्री एमालेले पाएपछि अर्थ र शहरी विकास मन्त्रालय माओवादीले माग गरेको छ। तर, एमालेले दिन आनाकानी गरेपछि माओवादीबाट मन्त्रिमण्डलमा प्रस्तावित गरिएका नेताहरुले शपथ बहिस्कार गर्ने तयारी गरेको माओवादी स्रोतले दाबी गरेको छ।

माओवादीको बटम लाईनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेकोमा एमालेले ती मन्त्रालयहरु दिन आनाकानी गरेपछि शपथमा सहभागी नहुने तयारी गरिएको स्रोतको दाबी छ।

प्रदेश प्रमुखको कार्यालयले बुटवलमा मुख्यमन्त्रीको नियुक्ति गरेर देउखुरीमा शपथ गराउने तयारी गरेपनि माओवादी नेताहरु दाबी गरिएको मन्त्रालय नपाए शपथमा नजाने अडानमा रहेका छन्।

लुम्बिनी प्रदेश सभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण समारोह राखिएको छ। मुख्यमन्त्रीले आजै कम्तीमा ३ सदस्सीय मन्त्रिपरिषद गठन गरी शपथ लिने तयारी गरेका छन्।

एमाले, माओवादीको सहभागितामा सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी गरेको नव नियुक्त मुख्यमन्त्री लिला गिरीले बताए। बाँकी दलहरुको लागि भने सत्ता गठबन्धनभित्र छलफल चलिरहेको गिरीले बताए।

बिहीबार हुने शपथ ग्रहणमा नवनियुक्त मुख्यमन्त्री लिला गिरीसहित उपनेता चेतनारायण आचार्य र माओवादीबाट दलका नेता जोखबहादुर महरालाई शपथ गराउने तयारी भएको थियो।

एमालेभित्र पनि मन्त्रालयको कुरा नमिलेपछि शुरुमा मुख्यमन्त्रीसहित २ जना विनाबिभागिय मन्त्री नियुक्त गरी ३ सदस्सीय मन्त्रिपरिषद बनाउने तयारी भएको एमाले स्रोतको दाबी छ। एमालेभित्र पनि सहरी विकास मन्त्रालयमा चेतनारायण आचार्य र भूमिश्वर ढकालको दाबी रहेपछि विनाविभागिय मन्त्री बनाउने तयारी भएको स्रोतले बतायो।

राजधानी व्यवस्थापनमा सहरी विकास मन्त्रालयमा बढी बजेट रहने भएकाले माओवादी र एमालेको आँखा सो मन्त्रालयमा गएको हो। माओवादीले सहरीमा ईन्द्रजीत थारुलाई पठाउने तयारी गरेको छ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले पनि मुख्यमन्त्रीको दाबी गरेका थिए। दाबी अनुसारको पहिलो नेतृत्व नपाए पछि महरा लुम्बिनी सरकारलाई समर्थन नगर्ने जनाए पछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विशेष सहमति भएको बताइएको छ।

सहमतिअनुसार पहिलो नेतृत्व अढाई बर्ष एमाले र दोस्रो नेतृत्व अढाई बर्ष माओवादीले आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमती भएको भनिएपछि मुख्यमन्त्री गिरीले भने सो सहमति भएको कुरालाई अस्वीकार गरिसकेका छन्।

मुख्यमन्त्री र सभामुखमा केन्द्रीय निर्णयलाई समर्थन जनाए पनि मुख्यमन्त्रीमा एमालेले पहिलो नेतृत्व लिएपछि माओवादीले अर्थ मन्त्रालय र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पाउनु पर्ने दावी गरेका छन्।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने शपथमा माओवादीको सहभागिता रहने बताए। अध्यक्ष बरालले अर्थ र सहरीमा दाबी भएको कुरा सत्य भएको बताउँदै आज विना विभागिय मन्त्रीकारुपमा एकजना नेताले शपथ लिने जानकारी दिए। ‘कसलाई पठाउने भन्ने विषयमा छलफल जारी छ, तर एकजना माओवादीबाट शपथ लिन जानुहुन्छ,’ उनले भने।

माओवादीका निवर्तमान मन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजित थारुले शक्ति सन्तुलन र सम्मानजनक भागवण्डा नभए माओवादीले सरकार गठनमा समर्थन गरेपनि शपथ ग्रहणमा सहभागी नहुने बताए।

उनले मुख्यमन्त्री र सभामुखमा केन्द्रको निर्णयअनुसार भएपछि मन्त्रालय बाँडाफाँटमा एमालेले सहझदारी गर्नु पर्ने बताउँदै पेल्न खोजिए शपथमा नजाने जनाए। ‘शक्ति सन्तुलनका आधारमा सम्मानजनक स्थान नदिएर पेल्न खोजिए माओवादी शपथ खान जान सक्दैन’, उनले भने।

अर्थ मन्त्रालयमा जोख बहादुर महरा र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयमा ईन्द्रजीत थारु र बाँकी एक मन्त्रालयमा बाँकेकी कृष्णा केसी नमुनाले दाबि गरेका छन्। यी २ मन्त्रालय र अन्य १ गरी तिन मन्त्रालय टुङ्गो नलाग्दा सम्म माओवादीले शपथ ग्रहण नगर्ने गरि वार्ता गर्न माओवादी नेताहरुलाई सांसदहरुले दवाव दिएको स्रोतको दाबी छ।

प्रकाशित मिति: : 2023-01-12 12:02:00

प्रतिकृया दिनुहोस्