सामाजिक सञ्जालको लत, बिग्रिँदै नानीबाबुको आदत

कोरोना महामारीले मानवजीवनको नक्सा नै बदलिदियो। अनि बदल्यो सारा दैनिकी। त्यतिखेर जताततै बन्दाबन्दी गरियाे। बजारदेखि स्कूलसम्म बन्द गरियो। यसले गर्दा अनलाइन कक्षाको सुरुवात भयो। फलस्वरूप, स–साना नानीबाबुहरू सानै उमेरमा मोबाइलको पहुँचमा पुगे।

संसारभर अनलाइन कक्षाको 'साइड इफेक्ट' देखिएको छ। बच्चाबच्चीहरू सामाजिक सञ्जालको लतमा फसेका छन्। मोबाइलको लतले सा–साना नाबीबाबुहरूलाई नकारात्मक प्रभाव पारेको छ।

अमेरिकामा सञ्जालको नराम्रो असरले विद्यालय मात्रै होइन, अभिभावक पनि चिन्तित छन्। अनि नानीबाबुहरू मानसिक तनाबमा फसेका छन्। उनीहरू एक्लोपन खोज्छन्। कक्षा काेठा जानै मान्दैनन्। आफूलाई मनमा लागेको कुरा ढुक्कसँग राख्न सक्दैनन्। समस्या पनि प्रस्टसँग भन्न सक्दैनन्। कतिले त ‘पेट दुख्यो’ भन्छन्। कतिपयको चाहिँ अनुहारमा चिटचिट पसिना आउँछ।

वासिङ्टनको एउटा विद्यालयले यी सबै तथ्यकाे प्रमाण दिँदै सामाजिक सञ्जाल कम्पनीलाई कठघरामा उभ्याउने मनस्थिति बनाएकाे छ। नानीबाबुहरू सञ्जालमा यति गहिरो रूपमा संलग्न भएका छन्, कि उनीहरू अब पढ्न पनि सक्दैनन्। त्यस्तै, वासिङ्टनको सियाटल पब्लिक विद्यालयले सामाजिक सञ्जालविरुद्ध मोर्चा खोलेको छ। अधिकारीहरूले ठूला सामाजिक सञ्जाल कम्पनीविरुद्ध मुद्दा दायर गर्ने साेच बनाएका छन्।

दुई दिनअघि सियाटलको एक अदालतमा दायर गरिएको एउटा उजुरीले अल्फाबेट, मेटा (फेसबुकको कम्पनी), स्न्यापच्याट, टिकटक र बाइटडान्सजस्ता सामाजिक सञ्जाललाई कानूनी कठघरामा उभ्याइ छाड्ने बताएकाे छ। निवेदनमा उल्लेख गरिएअनुसार नानीबाबुहरूले डिप्रेसनसहित थुप्रै प्रकारका मानसिक समस्याको सामना गर्दैआएका छन्।

ठूला सञ्जाल कम्पनीहरूलाई स्कुले केटाकेटीहरूमा देखापरेको मानसिक रोगका लागि दोषी ठहर्‍याइएको छ। उनीहरूमा सामाजिक सञ्जालको खराब लत रहेको भन्दै विद्यालयले सञ्जाल कम्पनीविरुद्ध उजुरी दायर गरेको छ।

गतवर्ष पनि यस्तै उजुरी बोकेर अमेरिकामा नानीबाबुका अभिभावकहरूले अदालत गुहारेका थिए। फेसबुकको कम्पनी मेटाका पूर्वअधिकारी फ्रान्सिस हाउगेनले आन्तरिक कागजात सार्वजनिक गरेका थिए। फ्रान्सिसले मेटा कम्पनीले आफ्नो आर्थिक लाभ बढाउनका लागि जानीजानी युवाहरूको शिकार गरिरहेको आरोप लगाएका थिए। यो सनसनीपूर्ण आरोप प्रकाशमा आएपछि अमेरिकाका केही राज्यका वकिलहरूले आफ्नो तर्फबाट यस विषयमा गहिराइमा जाने प्रयास गरे।

गुगलकाका अधिकारी जोस कास्टानेडाले एक इमेलमा भनेका छन्, 'हामीले हाम्रो प्लेटफर्ममा धेरै पैसा खर्च गरेर बालबालिकाका लागि सुरक्षित बनाउने कसरत गरेका छौं। हाम्रो प्राथमिकता भनेको बालबालिकाको भलाइ हो।'

एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2023-01-10 07:30:00

प्रतिकृया दिनुहोस्