छविलाल विश्वकर्मालाई सभामुख बनाउन ओलीमाथि दबाब

सत्ता राजनीतिका चतुर खेलाडी केपी शर्मा ओलीले नेकपा (एमाले)को भागमा परेको राष्ट्रपति र सभामुख पद कसलाई सुम्पेलान् भन्ने चारैतिर चासोकाे विषय बनेकाे छ।

पाँचदलीय सत्ता गठबन्धन भत्काएर सात दलमा उक्लिएका उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएपछि ‘राष्ट्रपति र सभामुख’ आफ्नो काबुमा राख्न चाहन्छन्।

राष्ट्रपति र सभामुखबारे आमसञ्चार र सामाजिक सञ्जालमा चर्चा–परिचर्चा भइरहँदा एमालेका शीर्ष नेताहरू भने मौन छन्। स्रोतका अनुसार उनीहरू बालकोटको ‘बार्दली’बाट अध्यक्ष केपी शर्मा ओलीको ‘ग्रिन–सिग्लन’ पर्खी बसेका छन्।

भाबी सभामुखलाई लिएर एमाले वृत्तामा तीनवटा नाम चर्चामा छन्– पृथ्बीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र विद्या भट्टराई। तर अध्यक्ष ओलीले यी तीनै पात्रलाई ‘तिमी नै सभामुख’ भनेर मुख खोलिसकेका भने छैनन्।

एमाले सचिवसमेत रहेका विश्वकर्मालाई सभामुख बनाउन अध्यक्ष ओलीमाथि यतिबेला सबैभन्दा बढी चाैतर्फी दबाब छ।

‘छविलाल कमरेलाई सभामुखको जिम्मेवारी दिइनुपर्छ। उहाँ जतिको मान्छे राज्यकाे उच्च तहमा पुग्नैपर्छ। एमाले र सिंगो दलित आन्दोलनका लागि यो एउटा अवसर पनि हो, त्यसैले नयाँ इतिहास कोर्नका लागि भएपनि सभामुखजस्तो साझा पदमा छविलाल कमरेड नै सुहाउनुहुन्छ,’ एमालेका एक स्थायी समिति सदस्यले भने।

पदाधिकारीबीच गुटगत स्वार्थ बाझिँदा एमालेमा राष्ट्रपति र सभामुख पदको छनोट पेचिलो बन्दै गएको छ। एमाले स्रोतका अनुसार उपमहासचिव गुरुङलाई सभामुख बन्नबाट रोक्न महासचिव शंकर पोखरेल, उपहासचिव विष्णु रिमाल र विदेश विभाग प्रमुख डा. राजन भट्टराई लागिपरेका छन्।

महासचिव पोखरेलले सभामुखमा उपमहासचिव गुरुङको विकल्पमा केन्द्रीय सदस्य विद्या भट्टराईलाई अघि सारेका छन्। तर उनीहरू छविलालकाे सन्दर्भमा भने सकारात्मक देखिएका छन्।

दलित समुदायका शीर्ष नेता तथा विश्वकर्मालाई उच्च तहको पदमा लैजान एमाले नेताहरूले बालकाेटमा दौडधुप थालेका छन्। आफूलाई सामाजिक न्याय र समानताको पक्षधर राजनीतिज्ञका रूपमा परिचित गराउन चाहने विश्वकर्माले पार्टीभित्र वा बाहिर उतिकै लाेकप्रिय छन्।

सभामुख माग्दै बालकोट धाइरहेका महासचिव पोखरेल समूह र उपमहासचिव गुरुङलाई अध्यक्ष ओलीले हालसम्म कुनै प्रतिक्रिया नदिएपछि दुबैजनाकाे विकल्पमा नेता छविलाललाई अघि सार्ने संकेत गरेका छन्।

प्रकाशित मिति: : 2023-01-06 07:15:00

प्रतिकृया दिनुहोस्