वरीयता नमिलेको भन्दै असन्तुष्टि जनाएका उपप्रधानमन्त्री नारायणकाजी मन्त्रालय जान थाले

फाइल तस्विर
फाइल तस्विर

वरीयतामा असन्तुष्टि जनाएका उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि मन्त्रालय जान थालेका छन्। एमालेका विष्णु पौडेललाई वरीयतमा आफूभन्दा राखिएको भन्दै श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि जनाएर मन्त्रालय नगई बसेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको दोस्रो वरीयतामा एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई राखिएपछि श्रेष्ठले असन्तुष्टि जनाएका थिए।

उनले पौडेलभन्दा आफू पहिले नै उपप्रधानमन्त्री भएको भन्दै आफूलाई दोस्रो वरीयतामा राख्न पार्टी नेतृत्वलाई दबाब दिएका थिए। तर, प्रधानमन्त्री प्रचण्डले थामथुम पारेपछि घुर्की लगाएर घरबाटै मन्त्रालय चलाउँदै आएका श्रेष्ठ आइतबारदेखि सिंहदरबारस्थित मन्त्रालय जान लागेका हुन्।

भौतिक तथा पूर्वाधार मन्त्रालयका एक कर्मचारीले मन्त्री श्रेष्ठ आइतबारदेखि नै आउन लागेको जानकारी दिए।

मन्त्री श्रेष्ठले सोमबार (आज) मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिने कार्यक्रम राखिएको छ। केही बेरअघिदेखि मन्त्री श्रेष्ठ कर्मचारीसँग छलफलमा बसेका छन्।

प्रकाशित मिति: : 2023-01-02 13:04:00

प्रतिकृया दिनुहोस्