प्रदेशमा पनि केन्द्रकै अनुसार गठबन्धन हुन्छ, हामी प्रतिपक्षमा बस्छौँ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्रकुमार राईले प्रदेशमा पनि केन्द्रकै अनुसार गठबन्धन हुने बताएका छन्।

सोमबार प्रदेशसभा सदस्यको शपथग्रहण लिएपछि प्रतिक्रिया दिँदै राईले आफूहरु प्रतिपक्षमा रहने सम्भावना बढी रहेको बताए।

अब बन्ने सरकारले प्रदेशको नामाकरण गर्ने कुरालाई प्राथामिकता दिनुपर्ने उनको भनाई छ। ‘नयाँ सरकारको पहिलो काम नामाकरण गर्ने हो,’ उनले भने, ‘मलाई लाग्छ प्रदेशको पहिलो वा दोस्रो संसद बैठकले नै नामाकरणको विषय टुंग्याउँछ होला।’

यस्तै प्रदेशको संरचना निर्माणमा ध्यान दिनुपर्ने उनले बताए। प्रदेशका आफ्ना कार्यालय नभएको भन्दै उनले त्यसलाई बनाउन नयाँ सरकारले काम गर्नुपर्ने बताए।

अनुभूतिका हिसावले अहिलेको राजनीतिक परिवर्तन सामान्य भएपनि राजनीतिक तवरले अनौठो, आश्चर्यजनक र अनपेक्षित भएको मुख्यमन्त्री राईले बताए।

‘राजनीतिमा धेरै ठुलाठुला संघर्ष र कठिनाई झेल्दै यहाँसम्म आइपुगियो। त्यो हिसावले अहिलेको परिवर्तन सामान्य हो। यसको सामना हामी गर्न सक्छौ तर राजनीतिक तवरले यो अनौठो, आश्चर्यजनक र अनपेक्षित छ,’ उनले भने।

प्रकाशित मिति: : 2022-12-26 17:38:00

प्रतिकृया दिनुहोस्