कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा दिल्लीबाट आउँंछ: विजुक्छें

फाइल तस्बिर
फाइल तस्बिर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंले नेपालको प्रधानमन्त्री कसलाई बनाउने भनेर दिल्लीबाट आउने बताएका छन्। 

अध्यक्ष बिजुक्छेंले नेपालको राजधानी काठमाडौं नभई दिल्ली भइरहेको बताए। 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको शनिबार भएको नयाँ भवन उद्घाटन कार्यक्रममा उनले स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रिकरणको अधिकार दिने हो भने प्रदेश सरकारको आवश्यकता नरहेको बताए। 

दुर्गम ठाउँहरुमा स्थानीय निकायलाई अधिकार सम्पन्न बनाई सक्रिय रुपमा काम गर्न सकेको खण्डमा केन्द्र सरकारले गर्नुपर्ने आधा काम सम्पन्न हुने उनको भनाई थियो। 

देशको परिस्थिति निकै विकराल बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले भारतको प्रभाव नेपालमा बढिरहँदा नेपालको अवस्था झन् झन् नाजुक बन्दै गएको बताए।

नेपालमा दिल्लीको प्रभाव बढ्दै जाँदा नेपालमा राजनीतिक अस्थिरता बढ्दै गएको बताउँदै अध्यक्ष बिजुक्छेंले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न पनि भारतकै सहयोगमा हुनुपर्ने अवस्था आउनु देशको लागि घातक भएको बताए। 

न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्ने कुरा आफैमा गलत भएको औंल्याउँदै उनले नेपालको कार्यपालिका र विधानपालिकामासमेत भारतको छायाँ परेको हुँदा संघर्षको निम्ति देशभक्त जनता एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: : 2022-12-17 20:42:00

प्रतिकृया दिनुहोस्