उपमेयमा पराजित भएकी विना राप्रपाबाट बनिन् समानुपातिक सांसद

गत स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको उपमेयमा पराजित विना जयसवाल प्रतिनिधिसभा सदस्य सांसद बन्न सफल भएकी छन्।

राप्रपाले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका ७ जना सांसदको नाममा जयसवाल पनि परेकी हुन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ निवासी जयसवाल गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा राप्रपाकै तर्फबाट वीरगञ्ज महानगरको उपमेयरकी उम्मेदवार बनेकी थिइन्। उक्त चुनावमा जयसवालले ५ हजार ९८८ मतका साथ तेस्राे स्थानमा सीमित भएकी थिइन्।

राप्रपाले प्रतिनिधिसभाकाे समानुपातिकतर्फ जयसवालसँगै पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा र अनिषा नेपालीको नाम आयोगमा पठाएको छ। 

केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङदेनलाई दिइएको थियो।

राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश नम्बर १ मा ४, मधेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको छ।

प्रकाशित मिति: : 2022-12-13 13:49:00

प्रतिकृया दिनुहोस्