रास्वपामा भाँडभैलाे: मुकुल ढकालले 'गुरुमा'लाई सांसद बनाएको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीका महामन्त्री मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र कर्मचारीलाई अवसर दिएको कारण आफू सांसद नभएको बताएका छन्। 

उनले शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पार्टीका महामन्त्रीले आफ्ना कर्मचारीलाई अवसर नदिएको भए आफू सांसद हुने बताए। 

उनले लेखेका छन्, 'म नि झन्डै सांसद भएको थिएँ। हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए। किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो। म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ। समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ। नियम त्यहि हो। विधि त्यहि हो। त्यहि अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो। यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै होँ। तर आफ्नालाई काखी च्यापियो। जति प्रयास गरे पनि थिति बसाउन सकिएन। म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ। यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन। मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु। तर यो यात्रा रमाइलो थियो।' 

पुरानालाई धक्का लागेको भन्दै उनी भन्छन्, 'पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो। यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु। अन्त्यमा, रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो। आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्नुहोला। पुनश्च : फोन, म्यासेज, ट्याग गरेर म समानुपातिकमा किन परिन भनेर सोध्ने सबैको चासोप्रति असिम सम्मान छ। अलग अलग जवाफ दिन सम्भव नभएकाले यहाँ लेखेको हुँ। पुन: पुनश्च : माथिका कुनै पनि आरोप होइनन्। खोज्नु होला। प्रमाणित हुन्छन्।'

प्रकाशित मिति: : 2022-12-10 20:11:00

प्रतिकृया दिनुहोस्