नेपालमा बालविवाह गैरकानूनी भए पनि जुम्लाका दुर्गम गाउँमा यसलाई सामान्य मानिन्छ। जुम्लामा खुलमखुला कानुन उल्लंघन हुँदा समेत उजुरी नपर्दा कारबाहि हुन सकेकाे छैन।
यहाँ बाल क्लब पनि छन्। तर समाजमा रिसिबी हुने डरले कसैले पनि उजुरी गर्दैनन्। कसैले उजुरी गरिदिए एउटै समाजमा बसेर अरूकाे छोराछोरीको भविष्य ‘बिगार्ने’ भन्ने आक्षेप आउँछ। त्यसकारण पनि बालविबाहकाे विषयमा बाेल्न डराउँछन्।
सिंजागाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले उजुरी नै नदिए पनि अब बालविवाह रोकिने दाबी गर्छन्। उनी जनप्रतिनिधिहरू मार्फत र बाल क्लब गठन गरेर पाँच वर्षे कार्यकालमै बालविवाहमुक्त बनाउन प्रतिबद्धता बताउँछन्। उनले बालविवाह रोक्न कानुनी व्यवस्थाको कार्यान्वयन पनि प्रभावकारी गर्नु पर्ने बताए।
साथै सानो उमेरमा विवाह गर्नाले यौन दुर्व्यवहार, अशिक्षा, हिंसा, कमजोर स्वास्थ्य, प्रजनन् स्वास्थ्यमा पर्नसक्ने गम्भीर खतरा बारे जानकारी दिने गरेकाे सिंजा गाउँपालिकाकी उपाध्यक्ष सितली रोकायाले बताइन्।