पूर्व मन्त्रीलाई हराउँदै प्रदेश सभामा पूर्व मेयर विजयी

मोरङ क्षेत्र नम्बर ४ को प्रदेश (२) मा प्रदेश १ सरकारका पूर्वमन्त्री जीवन घिमिरेलाई हराउँदै विराटनगरका पूर्व मेयर भीम पराजुली विजयी भएका छन्। नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले पूर्व सामाजिक विकासमन्त्री घिमिरेलाई १७८८ मतको अन्तरले पराजित गरेका हुन्।

पराजुली ११ हजार ४७९ मत ल्याइ विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा (एमाले)का घिमिरेले ९६९१ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका राप्रपाका माधवप्रसाद आचार्यले ६ हजार ९३५ मत प्राप्त गरेका छन्।

पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिको मेयरमा निर्वाचत भएका थिए। उनले एमालेका विनोद ढकालालई पराजित गरेका थिए। त्यस बेला पराजुलीले २३ हजार ३१ मत ल्याउँदा ढकालले १७,३२१ मत पाएका थिए।

यता, घिमिरे पनि २०७४ को निर्वाचनमा मोरङ ४(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका विश्वनाथ रिजाललाई पराजित गरेका थिए। घिमिरेले १३ हजार ८०५ मत ल्याउँदा रिजालले ११ हजार ६२५ मत ल्याएका थिए।

प्रकाशित मिति: : 2022-11-25 10:02:00

प्रतिकृया दिनुहोस्