राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले झिनाे मतले पराजित भएकाेमा दुखी भएकाे बताएका छन्।
काठमाडौं क्षेत्र नम्बर–१ मा कांग्रेसका प्रकाशमान सिंहसँग १२५ मतको झिनो अन्तरले पराजित भएपछि उनले आफू दुखी भएकाे बताएका हुन्।
मंगलबार उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु। गत पाँच वर्षको मेरो उतार-चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबिच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन।’
आफूलाई मत दिएका मतदाताहरूलाई धन्यवाद दिँदै उनले भने, ‘झुठ बोलेर मत माग्दिनँ’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिनँ’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु। म त्यो शब्दमा व्यक्त गर्न सक्दिनँ! यस पटक काठमाडौँ क्षेत्र नं १ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो।’
आफू चुनावमा हारेपछि धेरै जनाले सहानुभूति प्रकट गरिरहेकाे बताउँदै उनी लेख्छन्, ‘धेरै साथीहरूले निर्वाचन परिणामबारे चिन्ता गर्दै म प्रति गहिरो सहानुभूति व्यक्त गरिरहनुभएको छ। अलि आध्यात्मिक प्रकृतिको व्यक्ति हुनाले म ‘कर्म गर’ फलको ‘भर’ नपर’ भन्ने मान्यता राख्दछु। कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्दछु। तसर्थ, म जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु।’
निर्वाचनमा पराजित हुँदा आफ्नाे भन्दा धेरै मतदाताहरूका लागि नराम्राे लागेकाे उनले बताए। ‘म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु, जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेहमात्र होइन, टलपलाएको आँशु पनि देखेको छु। राजनीति यस्तो क्षेत्र हो जहाँ जिम्मेवारीमै नपुगी ठोस काम गरेर देखाउन नसकिने रहेछ। म २०७४ साल र यसपटकको निर्वाचन दुवैमा झिनो मतले पराजित भएँ। तर ममाथि यति ठूलो विश्वास व्यक्त गर्ने काठमाडौँ क्षेत्र नं एकका मतदाताका लागि मैले केही गर्न सकेको छैन। मेरो पृष्ठभूमि पत्रकारिता र परोपकारसँग जोडिएको छ। मैले पत्रकारितामा फर्किने या पत्रकारितामार्फत् आफ्नो निर्वाचन क्षेत्रलाई योगदान गर्ने सम्भावना म देख्दिनँ। तर व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु। त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ।’
आफ्ना प्रतिस्पर्धी प्रकाशमानलाई जितकाे शुभकामना दिँदै उनी लेख्छन्, ‘निर्वाचनमा विजयी हुनुभएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा तपाईँलाई यो समाज र देशलाई शीरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना गर्दछु।’