तेह्रथुमको छथर गाउपालिका–१ आङ्दिम वडा कार्यालयको (ख) मतदान केन्द्रमा पुन मतदान हुने भएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपेटिकामा प्रतिनिधीसभाकै मतपत्रबाट मतदान भएपछि आइतबार भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मंगलबार पुनः मतदान गराउने निर्णय भएको निर्वाचन आयोगमा लेखी पठाएको छ। सो मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रदेशसभा सदस्यको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाकै मतपत्र दिएको खुलेको छ। मतदान केन्द्रको मुचुल्काका आधारमा यहां ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ।
मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले सर्वदलीय, सर्वपक्षीय बैठकले बढी संख्यामा भएको मतपत्र संख्या समेत यकिन गरी गणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुनःमतदान गर्न माग गरेको र सो निर्णय बमोजिम आयोगमा लेखी पठाएको बताएका छन्। सो केन्द्रमा ८४४ मतदाता थिए।
त्यसमध्ये आइतबार ४५६ जनाले मतदान गरेका थिए। सो मतदान केन्द्रमा वृहस्पती गौतम मतदान अधिकृतको रुपमा खटीएका थिए।