देशभरका मतदातामा देखिएन उत्साह, कम मत खस्ने अनुमान

छिटपुट अवरोधका बिच देशभर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ। 

आइतबार बिहानदेखि मतदान सुरु भएको हो। निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ। 

त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन्। यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन। 

काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखा, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सालगायतमा मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन छ। बिहानको सवा १० बजे भइसक्दा पनि मतदाताको भीड देखिएको छैन।

निर्वाचन आयोगले देशभर ७५ प्रतिशत मत खस्ने अनुमान गरेको छ। तर, मतदान केन्द्रमा मतदाताको न्यून उपस्थितिले मत खस्ने प्रक्षेपण गलत सावित हुने देखिएको छ। 

जारी निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेको छ। उसले घोषित रूपमै निर्वाचन बिथोल्ने भनेकाले ठाउँठाउँमा अवरोधको प्रयास गरेकाले पनि धेरै मत नखस्ने अनुमान गरिएको छ।

केही जिल्लामा भने गठबन्धन र विपक्षी कार्यकर्ताका कारण मतदान प्रभावितबाहेक मतदान शान्तिपूर्ण रूपमा चलिरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-11-20 10:18:00

प्रतिकृया दिनुहोस्