मतदान गर्न गाउँ फर्किए मतदाता

फाइल तस्बिर
फाइल तस्बिर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान हुन अब केही घण्टा मात्र बाँकी छ। मतदाता आफ्नो मताधिकार प्रयोग गर्न व्यग्र प्रतिक्षामा छन्। 

आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मको अवधिमा पतपेटिकामा खस्ने मतले आउँदो पाँच वर्षलाई देशको नेतृत्व कसलाई सुम्पने भन्ने फैसला गर्नेछ। मतदानपूर्वको सबै व्यवस्थापकीय तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

जिल्लाका दुई सय ३१ वटै मतदान केन्द्रमा ‘बुथ’ निर्माणको काम सकिएको छ। सर्वदलीय बैठकदेखि मतदानकेन्द्र केन्द्रित तयारीका सबै काम पूरा भएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए। 

'मतदानका लागि आवश्यक सामग्रीसहित कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तम्तयार अवस्थामा छन्, समयमै मतदान सुरु हुन्छ' उनले भने। निर्वाचन सामग्रीसहित, कर्मचारी, सुरक्षाकर्मी बिहीबार नै मतदान केन्द्रमा पुगिसकेका थिए।

मतदानका लागि जिल्ला बाहिर रहेका मतदाता पनि मन परेको उम्मेदवारलाई मत दिन गाउँ फर्किएका छन्। काठमाडौँबाट मत दिन गलकोट आउनुभएकी हरिकला मरासिनीलेले हरेक चुनावमा मत दिन आफू गाउँ आउने गरेको सुनाए।

'मन परेको पार्टी र उम्मेदवारलाई मत दिनु व्यक्तिको राजनीतिक अधिकार हो, यसको सदुपयोग गर्न टाढादेखि गाउँ आएकी छु' उनले भने। गत स्थानीय चुनावमा पनि परिवारसहित आएर मत खसालेको मरासिनीले बताए।

गाउँघरमा स्थानीय चुनावको भन्दा आम चुनावको रौनक केही कम हुने गरेको कतिपयको बुझाइ छ। स्थानीय चुनावमा जसरी जिल्ला बाहिर रहेका मतदाता यो चुनावमा गाउँ भित्रिएका छैनन्। जसका कारण मत पनि कम खस्न सक्ने आँकलन गरिएको छ।

स्थिर समय चलिरहेका कारण दलका गतिविधि भने ठप्प छन्। निर्वाचन गराउन जिल्लाभर गरी १८ सय ५४ कर्मचारी र नौ सय २६ स्वयंसेवक खटिएका छन्। यहाँ कूल एक सय छ मतदानस्थल र दुई सय ३१ मतदान केन्द्र रहेका छन्। 

जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ।

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २७ मतदाता छन्। क्षेत्र नं १ मा ९६ हजार छ सय ६५ र क्षेत्र नं २ मा ९५ हजार पाँच सय ६१ मतदाता छन्। महिला मतदाता ९८ हजार छ सय ४३ र पुरुष मतदाता ९३ हजार पाँच सय ८४ छन्। 

प्रतिनिधिसभा सदस्यका दुई र प्रदेशसभा सदस्यका चार सिटका लागि यहाँ ३१ उम्मेदवार चुनावी मैदानमा छन्। मतदान सँगसँगै मतगणनाका लागि स्थल निर्माणदेखि अन्य तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्लाको सुरक्षा प्रबन्ध पनि चुस्त पारिएको छ। सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन्। 

जिल्लाका कूल एक सय छ मतदानस्थलमध्ये ३५ प्रतिशतलाई अतिसंवेदनशील, १५ प्रतिशतलाई संवेदनशील र ५० प्रतिशतलाई सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारिएको छ। 

मतदानस्थलको अवस्था र संवेदनशीलता हेरेर सुरक्षा योजना बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ। समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रमेश ढकालले राज्यका चार वटै सुरक्षा निकायको समन्वयबाट सुरक्षा व्यवस्थापनको काम भइरहेको बताए।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिएको छ। 

मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिनेछन् भने बाहिरी सुरक्षा घेरामा भने सशस्त्र प्रहरी र नेपाली सेना रहनेछ। मतदानको पूर्वसन्ध्यासम्म आइपुग्दा जिल्लाभरको अवस्था सौहार्द र शान्तिपूर्ण रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। 
 

प्रकाशित मिति: : 2022-11-19 21:51:00

प्रतिकृया दिनुहोस्