निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन महानिरीक्षक सिंहको निर्देशन

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिबद्ध हुनुपर्ने बताएका छन्। 

बुधबार भर्चुअल भिडियो कन्फरेन्समार्फत् प्रदेश प्रहरी प्रमुख, प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशक, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई निर्वाचन लक्षित निर्देशन दिँदै यस्तो बताएका हुन्। 

उनले निर्वाचनको सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरी थप सक्रिय भई निर्वाचन अनुकूल वातावरण बनाउने गरी काम गर्नसमेत निर्देशन दिए। महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको व्यावसायिकतालाई व्यवहारमा समेत शतप्रतिशत लागू गर्नुपर्नेमा जोड दिए।औचित्य पुष्टि हुने गरी एवं कर्तव्यनिष्ठताको क्रममा गरिएका काम कारबाहीप्रति संगठनको सदैव साथ रहनेसमेत उनले बताए।

भर्चुअल कन्फरेन्समा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।
 

प्रकाशित मिति: : 2022-11-17 17:50:00

प्रतिकृया दिनुहोस्