राजनीति होइन जनताको सेवा गर्न आउँछ : ताराबहादुर

काभ्रे क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ताराबहादुर कुंवर क्षेत्रीले आफूलाई राजनीति होइन जनताको सेवा गर्न आउने बताएका छन्।

लौरो अभियानबाट स्वतन्त्र उम्मेदवार बनेर जनताको सेवा गर्न आफू प्रतिस्पर्धामा उत्रिएको बताएका उनले राजनीतिक दलका व्यवहारबाट जनता मारमा परेको आरोप लगाए।

जनताका शिक्षा, स्वास्थ्यसहित आधारभूत आवश्यकता पूरा गराउन र आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रदेशसभामा जान उम्मेदवारी दिएको उनको भनाइ छ।

बागमती सफाइ अभियानदेखि अन्य सामाजिक क्षेत्रमा आफू क्रियाशील भए पनि राजनीतिको क्षेत्रबाट जनतामा गर्नुपर्ने सेवा र उपलब्ब्ध गराउनुपर्ने सुविधाका लागि आफू उम्मेदवार बनेका बताएका उनले यसका लागि आवश्यक कानुन निर्माण गर्न प्रदेशसभामा जान चाहेकाले मत दिन आमजनतासँग माग गरे।

राजनीतिक दलका नेताले राजनीतिलाई व्यवसाय बनाउँदा जनता महंगीसहितको मारमा परेको भन्दै उनले जनताको सेवाका लागि आफू राजनीतिमा आएको बताए।

‘मलाई राजनीतिक गर्न आउँदैन, तर जनताको सेवा गर्न र सुविधा उपलब्ध गराउन आउँछ,’ उनले भने, ‘यसका लागि आवश्यक कानुन बनाउन प्रदेशसभामा जान लागेको छु। यसमा जनताको साथ चाहिन्छ। मलाई मत दिनुहुन्छ भन्ने विश्वास लागेको छ।’ 

देशभर एकैपटक आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदै छ।

प्रकाशित मिति: : 2022-11-13 12:06:00

प्रतिकृया दिनुहोस्