माओवादी 'पेण्डुलम' भइसक्यो, अब विलय हुन्छः रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)लाई ‘पेण्डुलम पार्टी’को संज्ञा दिएका छन्।

अबको केही वर्षमा नेपालमा जम्मा तीनवटा पार्टी मात्रै बाँकी रहने दाबी गर्दै उनले मूल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र नेपाली कांग्रेस पार्टी मात्रै हुने बताएका छन्

वरिष्ठ उपाध्यक्ष मिश्रले यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइसकेको उल्लेख गर्दै एमाले र कांग्रेसलाई जति गाली गरेपनि प्रचण्डपथमा नै हिँडेको बताएका छन्। उनले देशको धर्म, संस्कृति, अस्तित्व, स्वाभिमान, भुगोल, पहिचान, जाति, भाषाभाषी सबै जोगाउनुपर्ने दायित्व अब राप्रपालाई रहेको बताएका छन्।

‘यो देशमा अबको केही वर्षमा जम्मा तीनवटा पार्टी रहन्छ। मुल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र नेपाली कांग्रेस। माओवादी पेण्डुलम भइसक्याे। यता र उती गर्छ, की त्यो विलय हुन्छ, की त्यो साँघुरिएर बस्छ। त्यस बाहेक अर्को क्षेत्रिय र अन्य दलहरु सानो सानो अवस्थामा रहन्छन्,’ उनले भने, ‘तीन वटामा दुई वटा पार्टी एमाले र कांग्रेस एउटै कित्तामा भएका दुई नामका पार्टी मात्रै हुन्। एउटै कित्ताका पार्टी हुन्। किनभने यी दुवै पार्टीको लगभग प्रचण्डीकरण भइसक्यो। जति गाली गरेपनि प्रचण्डीकरण भइसक्यो। त्यही बाटोमा हिँडेका छन्।’

काठमाडौं–१ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेका वरिष्ठ उपाध्यक्ष मिश्रले कांग्रेस नेता स्व.गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दाबी समेत गरेका छन्। 

प्रकाशित मिति: : 2022-11-11 16:36:00

प्रतिकृया दिनुहोस्