पूर्वअर्थमन्त्री पौडेल: देशको अर्थतन्त्र संकटमा छ, मन बुझाउने कुनै ठाउँ रहेन

File photo
File photo

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन्। रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पौडेलले बुधबार सैनामैना नगरपालिकामा घरदैलोका क्रममा मुलुक डरलाग्दो आर्थिक संकटमा फसेको बताएका हुन्। उनले सबै सूचकांक सकारात्मक नरहेको बताउँदै महँगी, बेरोजगार र तीव्र आर्थिक संकटले कतै पनि मन बुझाउने ठाउँ नरहेको दाबी गरे।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको समीक्षासहित प्रकाशित गरेकोे तथ्यांकमा सबै आर्थिक सूचकांकहरू नकारात्मक देखिएबो बताउँदै उनले मुलुक निराशाजनक स्थितिमा पुगेको टिप्पणी गरे। पछिल्लो तथ्यांकअनुसार मुलुकको मुद्रस्फिति ८ दशमलव ६४ प्रतिशत छ। जुन अघिल्लो वर्षको सोही अवधिमा ३ दशमलव ४९ रहेको थियो।

चरम मूल्यवृद्धि बेरोजगारीका कारण युवाहरू विदेश पलायन हुने दर अस्वाभाविक वृद्धि भएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे। वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उनले बताए। एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले गठबन्धन नेतृत्वको सरकारले मुलुकलाई सही दिशामा हिंडाउन नसक्दा अकल्पनीय ढंगले मुलुकको स्थितिले बाटो बिराएको दाबी गरे।

पौडेलले बुटवल-गोरुसिङ्गे हुँदै चन्द्रौटा जोड्ने सडक ६ लेनमा बिस्तारका लागि केही महिनामै टेण्डर प्रक्रियामा जाने बताए। बेलहिया–बुटवल ६ लेन सडक निर्माणमा भएका कमजोरीलाई सच्याउँदै थप आकर्षक र व्यवस्थित ढंगले पूर्व-पश्चिम राजमार्गअन्तर्गतको बुटवल–चन्द्रौटा सडकलाई बिस्तार गरिने उनले बताए।

सडक निर्माणका लागि विश्व बैंकसँग नेगोसेसन गरी डिपीआर निर्माणलगायतका काम अघि बढेको बताउँदै उनले ३८ अर्ब लागतमा सडक बिस्तारको काम हुने उल्लेख गरे। पौडेलले यो सडक निर्माणसँगै रुपन्देहीको सैनामैना तथा कपिलवस्तुलगायतका सहरहरूलाई थप व्यवस्थित र विकसित गराउने दाबी गरे।

सैनामैनामा निर्माणाधीन मुलुककै लामो चक्रपथ निर्माणले सैनामैनाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियाे। मुलुककै लामो सैनामैना चक्रपथको ५७ किलोमिटर मध्ये करिब ४० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको उनले बताए।

प्रकाशित मिति: : 2022-11-09 15:38:00

प्रतिकृया दिनुहोस्