निर्वाचन प्रचारसम्बन्धी सूचना सबै सञ्चार माध्यमहरुलाई उपलब्ध नगराइएको भन्दै आयोगप्रति महासंघकाे असन्तुष्टि

आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको क्रममा निर्वाचन प्रचार-प्रसारसम्बन्धी सूचना सबै सञ्चार माध्यमहरुलाई उपलब्ध नगराइएको भन्दै नेपाल पत्रकार महासंघले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेर असन्तुष्टि जनाएको छ।

महासंघका सचिव गोविन्द्र प्रसाद चौलागाईंको नेतृत्वमा केन्द्रीय सदस्य सुभाष साहसहितको टोलीले प्रमुख आयुक्त थपलियासँग भेटघाट गरी निर्वाचन प्रचारप्रसारको क्रममा एजेन्सी खडा गरी सञ्चार माध्यमले पाउने प्रचार-प्रसार शुल्क कटौती नगर्न र छापा माध्यम, विद्युतीय माध्यम र अनलाइन माध्यम सबैलाई प्रचार-प्रसार सामग्री उपलब्ध गराएर समान व्यवहार गर्न आग्रह गरेको छ।

महासंघको आग्रहपछि प्रमुख आयुक्त थपलियाले टेलिभिजन र रेडियोको समस्या हल भइसकेको, अनलाइन सञ्चार माध्यमहरुलाई अधिकतम ३५ हजार रुपैयाँसम्मका सामग्री उपलब्ध गराउने निर्णय आजै भएको बताउँदै छापा माध्यमअन्तर्गत छुटेका साप्ताहिकहरुको समयमा सबैलाई समान रुपमा प्रचार सामग्री उपलब्ध गराउन आयोगमा छलफल गरी समस्या हल गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल पत्रकार महासंघमा देशैभरिका साप्ताहिक तथा अनलाइन सञ्चार माध्यमहरुले प्रचार सामग्री नदिई निर्वाचन आयोगले विभेद गरेको भन्दै समान व्यवहारको लागि पत्रकार महासंघले लविङ गर्नुपर्ने दबाबपछि आज टोली भेटघाटमा पुगेको हो।

प्रकाशित मिति: : 2022-11-09 12:50:00

प्रतिकृया दिनुहोस्