जनताको प्रश्नसँग भाग्दै भानुभक्त, खत्रीमाथि एमाले कार्यकर्ताको दुर्व्यवहार

File Photo
File Photo

जनताले गरेका प्रश्नको जवाफ फर्काउन नसकेपछि एमाले नेताहरू मतदातालाई थर्काउँदै हिँड्न थालेका छन्।

साेमबार माेरङकाे पथरीशनिश्चरे-८ मा नेकपा एमालेले आयाेजना गरेको कार्यक्रममा माेरङ-३ का एमाले उमेदवार भानुभक्त ढकालले स्थानीय लाेकेन्द्र खत्रीलाई हप्काएका हुन्।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै खत्रीले भने, 'मैले सुकुम्बासी समस्या समाधान गर्ने भनेर सधैं भाषण गर्नुहुन्छ,तर समस्या ज्यूँका त्यूँ छ। किन सधैं ढाँटिरहनु हुन्छ भनेर प्रश्न गरेको थिएँ।'

'उहाँले अघि भाषणका क्रममा सबै कुरा राखेको थिएँ, अघि कहाँ जानुभएको थियो, भन्दै ढकालले थर्काउनुभयो', खत्रीले भने, 'ढकालपछि माेरङ ३(१) का प्रदेशसभा उमेदवार एवम् पथरीशनिश्चरे नगरपालिकाका निवर्तमान मेयर दिलिपकुमार राईले पाखुरामा समातेर एकान्तमा लगि सम्झाउन थाल्नुभयाे। राईले माननीयले अबको एमाले सरकारले सुकुम्बासी समस्या समाधान गर्ने भनिसक्नु भयो त। यस्ता प्रश्न साेध्ने भए पार्टीको कार्यालयमा आउनु भन्नुभयो।'

राईको अभिव्यक्तिप्रति स्थानीयले असन्तुष्टि प्रकट गर्दै हाेहल्ला गरी प्रश्न गर्न पाउनुपर्ने भनेपछि वडा नम्बर ८ का वडाध्यक्ष एवम् एमाले नेता नवीनजंग कार्की फिल्मीशैली आएर सुकुम्बासी समस्या आफूले समाधान गर्ने बताएका थिए।

कार्कीले सुकुम्बासी समस्या समाधान गर्ने भनेपछि खत्रीले माेवाइल निकालेर भिडियो गर्ने भनेका थिए।माेवाइल निकाल्न खाेज्दा वडाध्यक्ष कार्कीले तेरा भाेट चाँहिदैन भन्दै खत्रीको माेवाइल खाेसेका थिए।

खत्रीले भने, 'वडाध्यक्षले कार्यलय बसेर जनताको काम गर्ने हाे कि पार्टीको झाेले भएर हिँड्ने हाे?' खत्रीले आफूलाई एमाले नेताहरूले अपमान गरेको बताए।

प्रकाशित मिति: : 2022-11-08 10:46:00

प्रतिकृया दिनुहोस्