विकासको चहना राख्ने जनताको मत मलाई आउँछ : नेता सिटौला

File photo
File photo

नेपाली कांग्रेस नेता एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताएका छन्।

झापाको भद्रपुरमा आज पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै नेता सिटौलाले विगत पाँच वर्षमा झापा क्षेत्र नं ३ मा कुनै पनि विकासका गतिविधि नभएका आरोप लगाउँदै विकासप्रतिको चाहना राख्ने जनताले आफूलाई यसपटक मत दिएर विजय गराउने बताए।

'पहिलो संविधानसभाबाट संविधान आउन सकेन, म त्यो चुनावमा पराजित भएको थिएँ' उनले भने 'दोस्रो संविधानसभाको निर्वाचनमा संविधान बनाउने प्रतिबद्धता जनाए, जनताले मलाई विश्वास गर्नुभयो, विजय भएँ र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेँ।

संविधान निर्माण भए पनि संविधानले निर्दिष्ट गरेका लक्षित वर्गको हकअधिकार सुनिश्चित नभएको उनले बताए। “यो निर्वाचनबाट लोकतन्त्र चाहने पक्षको विषय हुन्छ, गठबन्धनको सरकार बन्छ', संविधानको वास्तविक कार्यान्वयन हुन नसकेको बताउँदै उनले भने, 'त्यो सरकारले संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकमा लोकतान्त्रिक समाजवाद स्थापित गर्छ।'

मुलुकमा कांग्रेस र कम्युनिष्ट मिलेर गणतन्त्र ल्याएको उल्लेख गर्दै नेता सिटौलाले राजतन्त्र फ्याँक्ने शक्तिले राजतन्त्रको पक्षधरसँग सहकार्य गर्नु आश्चर्यको कुराको भएको जनाए।

उनले विसङ्गतिपूर्व राजनीतिले देशलाई विकास र निकास दिन नसक्नेसमेत औँल्याए। सत्ता–गठबन्धनबारे चर्चा गर्दँ नेता सिटौलाले गठबन्धनका हरेक काम इमान्दारीपूर्वक हुने-भइरहेको बताए। 'गठबन्धनले राम्रो काम गरेको छ', उनले भने 'गठबन्धन सफल हुन्छ, हाम्रो जीत पक्का छ।' समाजका विभिन्न क्षेत्रका जनता आफूलाई जिताउन तल्लीन रहेको नेता सिटौलाको भनाइ छ। विसं २०४८ देखि आफू चुनावी राजनीतिमा रहेको बताउँदै नेता सिटौलाले हारे पनि जीते पनि झापा क्षेत्र नं ३ मै रहेर राजनीतिमा सक्रिय रहेको सुनाए।

प्रकाशित मिति: : 2022-11-07 17:34:00

प्रतिकृया दिनुहोस्