कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धाः रामजनम र रञ्जितालाई विरासत जोगाउने चुनौती

File photo
File photo

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी र गठबन्धनको साथ पाएको नेपाली कांग्रेस विगतको आफ्नो विरासत जोगाउन प्रयासरत छन्। एमाले भने थारु मत विभाजित हुँदा आफ्नो पक्षमा नतिजा आउने आशमा छ।

नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी आफ्ना श्रीमान् रेशम चौधरीले २०७४ मा प्राप्त गरेको जित र गत वैशाखमा भएको पालिकाको निर्वाचनमा पार्टीले प्राप्त गरेको जित जोगाउनुपर्ने दबाबमा छिन्। कांग्रेसका उम्मेदवार रामजनम चौधरी २०४८ देखि प्राप्त गर्दै आएको जित जोगाउने दबाबमा छन्।

थारु बाहुल्यता रहेको सो क्षेत्रमा दुईजना थारुको उम्मेदवारी परेका कारण मत विभाजन हुने र नतिजा आफ्नो पक्षमा आउने अपेक्षा एमालेका उम्मेदवार तपेन्द्र रावलको छ।

टीकापुर घटनालाई राजनैतिक मुद्दा बनाइनुपर्ने र पहिचानमा आधारित संघीयताको मुद्दा बोकेर करिब एक वर्षअघि रञ्जिताकै अध्यक्षतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीले गत वैशाखमा कैलालीको टीकापुर क्षेत्रमा चार पालिकामा जित हासिल गरेको थियो। २०७४ मा भूमिगत रूपमै कैलाली १ बाट उम्मेदवार बनेका रञ्जिताका श्रीमान् रेशम चौधरी अत्यधिक मतले विजयी भएका थिए।

तर नागरिक उन्मुक्ति पार्टीका लागि कांग्रेसका रामजनम चौधरी चुनौती बन्ने देखिएका छन्। थारु बाहुल्यता रहेको सो क्षेत्रमा रामजनम चौधरी समुदायसँग भिजेका नेता हुन्। रामजनम २०४८ को आमनिर्वाचनमा कैलाली–२ बाट २८ वर्षको उमेरमा सांसद भएका थिए।

तत्कालीन अवस्थामा कैलाली जिल्लामा तीन निर्वाचन क्षेत्र थिए। त्यसपछि पनि उनी २०५१, २०५६ र २०७० मा प्रत्यक्ष तथा २०६४ मा समानुपातिक तर्फबाट सांसद बने। २०७० मा भने कैलाली ३ मा पराजित भएका थिए। उनी २०५४ मा सामान्य प्रशासन सहायक मन्त्री, २०५५ मा शिक्षा राज्यमन्त्री, २०५८ मा भूमिसुधार राज्यमन्त्री र २०७२ मा स्वास्थ्यमन्त्री भएका थिए।

स्थानीय तहमा पाएको मतले पनि रामजनमलाई केही हौसला थप्न सक्दछ। कैलाली–१ मा सत्तारुढ गठबन्धन दलले वडास्तरमा २२ हजार मत पाएका छन्। जहाँ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार मत मात्रै प्राप्त गरेका छन्। एमालेले वडास्तरमा नौ हजार आठ सय मत प्राप्त गरेको थियो।

टीकापुर नगरपालिकाको मेयर भइसकेका एमालेका उम्मेदवार रावल आफूले गरेका कामको मूल्यांकन जनताले गर्ने र पुनः मौका दिनेमा आशावादी छन्। स्थानीय तहमा एमालेले सो क्षेत्रबाट साढे नौ हजार मत मात्रै पाएको थियो।

तर दुईजना चौधरी समुदायका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा थारु मत विभाजन हुने र पहाडी मतदाताको मत पाएर आफू चुनाव जित्ने रणनीति रावलको छ। देशैभर एमालेप्रति जनलहर रहेका कारण आफूलाई चुनाव जित्न समस्या नहुने उनी बताउँछन्।

२०७४ को निर्वाचनमा रेशमलाल चौधरीले नागरिकको सहानुभूति मत पाएका थिए। तर अहिले रेशमको स्थानमा उनकी पत्नी उम्मेदवार छन्। आममतदाताले उनकी पत्नी रञ्जितालाई कसरी हेरेका छन्, सो कुरा पनि महत्वपूर्ण हुन सक्दछ।

पहिचानसहितको संघीयता, टीकापुर घटनाको राजनीतिक रूपमा सम्बोधन, पछाडि पारिएका वर्गको अधिकारको सुनिश्चिततासहितका मुद्दा समेटेर जेलमा रहेका रेशमले श्रीमती रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टीको गठन गरेका थिए। नागरिक उन्मुक्तिले ती मुद्दा उठाउँदै टीकापुर  नगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकमा जितेको थियो।

रञ्जिता आफू चुनाव जित्नेमा ढुक्क रहेको बताउंछिन्। ‘गरिबका छोराछोरीलाई अधिकार मागेकै आधारमा जेलमा राखिएको छ, उनीहरूको न्यायका लागि मेरो उम्मेदवारी हो,’ रञ्जिता भन्छिन्, ‘हाम्रो गुमेको पहिचान फिर्ता ल्याउन र पछाडि पारिएका वर्ग समुदायलाई राज्यको मूलधारमा ल्याउन मेरो उम्मेदवारी हो। त्यसैले म चुनाव जित्नेमा ढुक्क छु।’ 

कांग्रेसका उम्मेवार रामजनम गठबन्धनको साथ र पहिचानको मुद्धामा आफूले खेलेको भूमिकाका कारण जित हुनेमा ढुक्क रहेको बताउंछन्। ‘क्षेत्र नम्बर १ को समग्र विकास र टीकापुर घटनालाई किनारा लगाउन मेरो उम्मेदवारी हो,’ रामजनम भन्छन्, ‘टीकापुर घटनालाई मैले नजिकबाट बुझेको छु।

अदालती प्रक्रियाबाट मात्रै यो घटना समाधान हुनेवाला छैन। यसलाई राजनीतिक तरिकाले समाधान गर्नुपर्ने हुन्छ। त्यसका लागि मेरो पहल रहने छ।’

एमालेका उम्मेदवार रावल गठबन्धन र नागरिकको मत आफूले पाउने र विजयी हुने बताउंछन्। ‘मैले स्थानीय तहमा गरेको काम। सुरुवात गरेका विकासका कार्य जनताले देखेका छन्,’ रावल भन्छन्, ‘अर्को कुरा, राष्ट्रिय स्वाधीनता, देशको स्वाभिमान कायम राख्न एमालेले खेलेको भूमिकाका कारण पनि जनआकर्षण एमालेप्रति बढेको छ। त्यसैले म चुनाव जित्ने छु।’ नागरिक उन्मुक्ति पार्टी र गठबन्धनप्रति जनताको बिश्वास घटेकाले आफ्नो जित हुने रावल बताउंछन्। 
 

प्रकाशित मिति: : 2022-11-07 15:00:00

प्रतिकृया दिनुहोस्