मोरङका १७ वटै पालिकामा नमुना मतदान हुने

आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बदर मत कम गर्न मोरङका १७ वटै पालिकामा नमुना मतदान हुने भएको छ। बुधबार विराटनगरबाट औपचारिक रुपमा मतदाता शिक्षा कार्यक्रम सुरु भएको हो।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अधिकृत लेवनकश्यप अधिकारीका अनुसार जिल्लाका १७ वटै पालिकामा पमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी मतदान प्रक्रियाको बारेमा सुसूचित गराउइने छ।

एकै व्यक्तिले चारवटा मतपत्रका मत हाल्दा मत बदर हुने संख्या बढ्ने भएकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको अधिकारीले बताए। मंसिर १ गतेसम्म प्रत्येक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविकाले घरघरमा गएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने उनले बताए।

समानुपातिक तथा प्रत्यक्षतर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे मतदाता शिक्षा कार्यक्रममा जानकारी गराइने अधिकारीले बताए।

७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा प्रतिनिधिसभातर्फ ६ र प्रदेशतर्फ १२ निर्वाचन क्षेत्र रहेको छ। जिल्लामा ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्र छन्।

प्रकाशित मिति: : 2022-11-04 16:38:00

प्रतिकृया दिनुहोस्