मतदाता शिक्षाका लागि कैलालीमा नमुना मतदान, शतप्रतिशत मत सदर

आगामी ४ मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमुना मतदान गरिएको छ। उक्त मतदानमा शतप्रतिशत मत सदर भएको निर्वाचन आयोगले जनाएको छ।

कैलाली ३ को सुख्खडस्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमुना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो।

प्रदेश निर्वाचन कार्यालय, धनगढीको पहलमा भएको नमुना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयम्सेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए।

नगर प्रमुख रावतले नमुना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने बताए।

निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उद्देश्यले नमुना मतदान गरिएको बताए। उनले निर्वाचनमा मतदान गर्ने तरिकालगायतका विषयमा प्रकाश पारेका थिए।

यसअघि कैलाली ४ को गोदावरी नगरपालिका क्षेत्रमा पनि नमुना मतदान कार्य सम्पन्न भएको थियो। जिल्लाका अन्य पालिकामा पनि नमूना मतदानको तयारी गरिएको छ।

शुक्रबारबाट कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रका वडा र टोलमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न एक सय २६ महिला स्वयम्सेवी परिचालन गर्न लागिएको छ।

स्थानीय पालिकाबाट निर्वाचनसम्बन्धी आवश्यक तालिम लिएका महिला स्वयम्सेवीलाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्न लागिएको हो। निर्वाचन कार्यालयले स्थानीय तहको एकजना अधिकृत तहको कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति (अनुगमन अधिकृत) को रूपमा खटाउन लागेको छ।

प्रकाशित मिति: : 2022-11-04 13:12:00

प्रतिकृया दिनुहोस्