अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्।

राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्बद्ध  नेता कार्यकर्तालाई आग्रह गरे।

'मङ्सिर ४ को निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने भन्ने छ, यो सामान्य निर्वाचन मात्र होइन, अन्य निर्वाचनभन्दा भिन्न छ', अध्यक्ष दाहालले भने, 'यो निर्वाचनमा अग्रगमनलाई जिताउन पूरा तागतका साथ एकताबद्ध भएर लाग्नु पर्नेछ।'

आर्थिक समृद्धिमार्फत जनताको मन नजितेसम्म राजनीतिक परिवर्तन दिगो हुन नसक्ने जिकिर गर्दै उनले अब विकास र समृद्धिको नयाँ यात्रा गोरखाबाटै सुरु हुने बताए।

'नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनु पर्नेछ। अब यो राजनीतिक प्रक्रियाको सफलताका निम्ति आर्थिक विकास अपरिहार्य शर्त हो', गोरखा क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका अध्यक्ष दाहालले भने, 'यदि हामीले जनताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभूति दिलाउन सकेनौँ र आर्थिक क्रान्तिको खाका कोर्न सकेनौँ भने यो परिवर्तन दिगो हुँदैन। त्यसकारण परिवर्तनको दिगोपनका लागि पनि आर्थिक समृद्धिको नयाँ खाका सुरु गर्नुपर्छ।'

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक ठाउँमा आउनुपर्ने बताउनुभयो। 'संविधानसभाबाट जारी संविधान, गणतन्त्र र संघीयताको रक्षार्थ हामी एक ठाउँमा आएको छौँ', उनले भने, 'आगामी मङ्सिर ४ गते प्रतिगामी प्रवृत्ति पराजित हुन्छ, अग्रगामी शक्ति अगाडि आउँछ।'

गणतन्त्रको जग दह्रो भएर समृद्धिको ढोका नखोलेसम्म अग्रगामी शक्तिबीचको एकता र सहकार्य आवश्यक रहेको जनाउँदै अध्यक्ष भटृराईले आसन्न निर्वाचन परिवर्तनका पक्षमा रहेका शक्तिबीच सहकार्यको नमूना हुने बताए। कृषिप्रधान अर्थतन्त्रको  विकास गर्दै पूर्वाधार निर्माणमा दलको ध्यान जानुपर्नेमा जोड दिँदै उनले पूर्वाधार निर्माणसँगै रोजगारी अभिवृद्धिका योजनालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिए।

चुनौतीपूर्ण भौगोलिक वनावट भए पनि गोरखा जिल्लामा विकासको प्रचूर सम्भावना रहेको उनको भनाइ थियो। 'बेनिघाट–आरुघाट–लार्के सडकको निर्माण सुरु भएको छ, यसलाई जतिसक्दो छिटो सम्पन्न गरिनुपर्छ, बूढीगण्डकी, दरौँदी, चेपे र मस्र्याङ्दी नदीको उत्तर–दक्षिण नदी करिडोर तथा त्रिशूली नदी करिडोर निर्माण गरे मात्रै पनि गोरखामा आधारभूत पूर्वाधार तयार हुन्छ', पूर्वप्रधानमन्त्री भट्टराईले भने, 'पूर्वाधारसँगै रोजगारी सिर्जना र कृषि उत्पादन वृद्धिका साथै हिमाली क्षेत्रमा जडीबुटी सङ्कलन गरेर प्रशोधन केन्द्र बनाउन पनि सकिन्छ।'

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धिलाई संस्थागत गरेको संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताए।

आर्थिक समृद्धिको फड्को मार्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने कार्यभार पूरा गर्न वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्नेमा उनले जोड दिए।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य कमला पन्तले गोरखाली जनताको विकासको आकाङ्क्षा सम्बोधन गर्नेखालका योजना ल्याउन गठबन्धनका उम्मेदवारलाई आग्रह गरे। 'लार्के–बेनिघाट र दूधपोखरी–देउराली सडक, राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना, गोरखकाली रबर उद्योग सञ्चालनसँगै जिल्लाका पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिनुपर्छ', उनले भने। 

प्रकाशित मिति: : 2022-11-03 14:40:00

प्रतिकृया दिनुहोस्