निस्दी गाउँपालिका आफ्नाे जन्म घर बताउने वमबहादुर सुनारी नवलपुरको अरुणखोलामा बस्न थालेकाे तीन दशक बित्याे।
उनीसँगै पहाडको थातथलो छाडेर आएका उनका आफन्त नवलपुरको भिउरानमा बसेकाे उत्तिकै भयाे।
पाल्पा जिल्लाको कणाली भनेर चिनिने निस्दी गाउँपालिकाको मित्याल, ज्यामिरे, अर्चले जस्ता गाउँ बस्तीबाट भावी सन्ततीको उज्यालो भविष्यको कल्पना गर्दै रोजगारीको अवसरसगैं शिक्षा र स्वास्थ्यको सहज पहुँचका लागि उनीहरु बसाई नै सरेर तराई झरेका हुन्।
मुलुकमा सशस्त्र द्धन्द्धको क्रम बढ्दै गएपछि सुरक्षाको खोजीसगैं स्वस्थ्य शिक्षा र रोजगारीको लागि बाबु बाजेले जोडेको सम्पत्ती गाउँका लागि न्युनतम मूल्यमा बिक्री गरेर सर्दीमा अर्कोको जमिन कमाउन आएका बसन्त सोती भन्छन्, 'अहिले गाउँ छाडेकोमा कुनै पश्चताप छैन। अर्काको जमिन कमाउँदा कमाउँदै आर्जित रकमले आफूलाई पुग्ने जमिन खरिद गरेका छाैँ।
पहाडमा कुनै सुविधा छैन। नेपाल विद्युत प्राविधिकरणद्वारा वितरित विद्युतको उपभोग गर्नबाट बन्चित नै छन्। उच्च शिक्षाका लागि हाेस या बिरामी हुँदा नै किन नहाेस गाउँ छाड्नुपर्ने बाध्यता छ। त्यसैले पनि बसाइँसराइ गर्नु परेको उनीहरु बताउँछन।
श्रीमान वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर कमाउन थालेपछि पुरानो गाउँ बस्ती सबै बिक्री गरेकाे देवदह नगरपालिकाको खैरेनीमा भेटिएकी बिष्णु राना बताउँछिन्।
गाउँमा अवसरसँगै संभावना नै छैन। त्यसैले अवसरको खोजीसँगै आफ्ना बाल बच्चाको भविष्य सुनिश्चितका लागि होटल व्यवसाय सञ्चालन गरेको उनी बताउँछिन।
मुलुक २०४६ सालको अन्त्य सँगै नेपालको राजनैतिक व्यवस्था फेरियो। तर अहिलेसम्म गाउँका बनीबुतो गर्ने निम्न वर्गिय परिवारको अवस्था फेरिएन। राजनैतिक दलहरुले पाँच–पाँच वर्षमा आउने निर्वाचनमा विकाससँगै, सम्भावना रोजगारीको मुल फुटाउने आश्वासन मात्र दिने प्रवृतिका कारण गाउँबाट अधिकांश मानिस बसाइँसराइ गरेर तराई झर्ने क्रम बढेको पुर्णकला सुनारी सुनाउँछिन्।
दक्षिण एशियाकै सबै भन्दा ठुलो सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ यहीँबाट जाने हो। सिमेन्ट उद्योगका कारण गाउँ बस्ती उजाडिदै गएका छन्। तर यहाँका युवाहरुले उद्योगमा रोजगारी नपाएरै खाडी मुलुकका लागि लाखै रुपैंया खिर्चिएका छन्।
रोजगारी पाएकाहरु जति गाउँका टाठाबाठा, जन प्रतिनिधिका आफन्त छन्। धुलो धुँवा अशान्तिका कारण गाउँको बस्ती छाडेका हर्ष बहादुर नेपाली बताउँछन्।
तराई झरेपछि उनी एकदिन खाली बस्नु परेको छैन। कृषि मजदुरीको पनि राम्रै आम्दानी छ। पाँच जनाको परिवार सबैले कमाउने भएकाले अहिले सात कठ्ठा जमिन जोडिसकेको उनले बताए।
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाल्पा जिल्लाबाट सबै भन्दा बढि बसाइँ सरेको निस्दी गाउँपालिका हो। बसाइँसराइ बढेकाे कारण यहाँका जनसंख्या पनि घटदो अवस्थामा रहेको छ।
विकासका हिसाबले अत्यन्तै पछाडि परेको संघीय प्रदेश सरकारले चरालाई चारो राखे जस्तै कार्यक्रम तथा बजेट ल्याउने, संघीय तथा प्रदेश सरकारका माननीय बाटै ठगिनु परेकाे छ। पछिल्लो तथ्याङ्कमा ४ हजार ९ सय ८२ जनसंख्या घटेको स्थानीय बिरबहादुर सुनारी बताउँछन।
विकाससंगै रोजगारी, अवसर र सम्भावनाको खोजीमा नवलपरासीको विभिन्न गाउँ बस्ती, रुपन्देही, कपिलवस्तुका विभिन्न क्षेत्रमा जिल्लाबाट बसाइँ सर्नेको क्रम बढ्दो अवस्थामा रहेको छ।
पछिल्लो समय गाउँमा विकासले फडको मारेको छ तर निम्न वर्गिय खेती किसानी गर्ने कृषकहरुका लागि वन्य जन्तुका कारण बाली जोगाउनै कठिन छ। स्थानीय सरकार वैकल्पिक बाली तर्फ कृषकहरुलाई प्रोत्साहन मात्र नगरी बजारीकरण तर्फ पनि पहल गरेको खण्डमा बसाइँसराइ रोकिन सक्ने स्थानीयहरुको बुझाई छ।
ग्रामीण बस्तीबाट रोजगारीको अवसरको खोजीका कारण ग्रामीण बस्तीका जनसंख्या जन घनत्व घटदो क्रममा छ। तानसेन र रामपुर नगरबाट बसाइँसराइ दर अत्यन्त न्युन रहेको छ।
निस्दीपछि तानसेन नगरदेखि जोडिएको बगनासकाली गाउँपालिकाको जनसंख्या ऋणात्मक भएको छ। पछिल्लो दश वर्षमा ४ हजार ४ सय २७ जनसंख्या घटेकाे छ। यहाँ जनसंख्या घट्नु भनेको तराई तथा शहरी इलाकामा जनसंख्या बढनु हो। रैनादेवी, माथागढी, रिब्दीकोट, पूर्वखोला तथा रम्भा गाउँपालिकाको समेत घट्दो अवस्थामा रहेको छ।
जनसंख्या घट्नु राम्रो होइन तर यस विषयमा स्थानीय सरकारका प्रमुख समेत संवेदनशिल छैनन। बसाइँसराइ रोक्नका लागि पनि नयाँ कार्यक्रम ल्याउन पर्छ तर अहिलेसम्म स्थानीय तहदेखि नै बसाइँसराइ रोक्न कर्मकाण्डी मात्र कार्यक्रम ल्याएकाे सरोकारवालाको बुझाई छ।
गाउँबाट बसाइँसराइ रोक्ने विषयमा हालसम्म प्रदेश, संघीय सरकारका प्रतिनिधिहरु समेत बेखबर भएकाले समस्या सिर्जना भएको स्थानीय बताउँछन्।