वाइसिएलले तरण दल नेताको हत्या गरेकै ठाउँमा गठबन्धनको सम्पर्क कार्यालय

चार वर्षअघि माओवादी कार्यकर्ताहरु (वाइसिएल)ले गोली हानी तरुण दल नेताको हत्या गरेकै ठाउँमा अहिले काँग्रेस-माओवादीसहितको सत्तारुढ गठबन्धनले सम्पर्क कार्यालय खोलेको छ।

२०७५ भदौ २४ गते तरुण दल रोल्पा नगर समितिका सभापति रोहित पुनको गोली हानी हत्या भएको तत्कालीन रेष्ट पोइन्ट रेष्टुरेन्टमा सोमबार माओवादी नेता वर्षमान पुन, जोखबहादुर, काँग्रेस नेता अमरसिंह पुनलगायतले संयुक्त रुपमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरेका हुन्।

केही दिनअघि मात्र तरुण दल नेता स्वर्गीय पुनकी श्रीमती लालकुमारीले आफ्नो श्रीमानको फोटो फेसबुकमा पोष्ट गर्दै न्याय नपाएको गुनासो गरेकी थिइन्। पार्टीकै कारण ज्यान गुमाएका पुनको न्यायका लागि पार्टीले कुनै सहयोग नगरेको बरु अहिले उल्टै हत्याराहरुसँग मिलेर चुनाव लड्ने परिस्थिति आएको भन्दै उनले दुखेसो पोखेकी छन्।

रोहित पुनको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका कोही जेलमा छन् भने कोही रिहा भएर पनि वडाध्यक्ष भइसकेका छन्। विगतमा एकअर्काबीच पार्टी नमिलेकै कारण हत्यासम्मको स्थिति आएपनि अहिले ती वाइसिएल र तरण दलसँगै मिलेर चुनावको प्रचार गर्नुपर्ने बाध्यता रहेको छ।

रोल्पाको प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा काँग्रेस कार्यकर्ताहरुले माओवादीलाई भोट दिनुपर्ने अवस्था आएको छ। तर प्रदेशसभा ‘ख’मा माओवादीको भागमा नपरेपछि काँग्रेसलाई भोट नहाल्ने भन्दै माओवादी कार्यकर्ताले स्वतन्त्र उम्मेदवार खडा गरेका छन्।

प्रकाशित मिति: : 2022-10-18 11:25:00

प्रतिकृया दिनुहोस्