भनिन्छ इतिहास विगतको ऐना र भविष्यका लागि शिक्षा हो। इतिहासका प्रत्येक कालखण्ड कुनै न कुनै हिसाबले महत्वपूर्ण हुन्छन्। नेपालको राजनीतिक परिघटनाहरूलाई हेर्दा २००० सालको पहिलो र चालिसको दशकजस्तै साठीको दशक अविस्मरणीय रह्यो। देश, जनता र स्वयं राजनीतिक दलहरूका निम्ति यस कालखण्डले क्रान्तिकारी उर्जा मात्रै भरेन। मुलुकलाई अग्रगमनको मार्गनिर्देश गर्यो। समयले कोल्टे फेर्यो। ऐतिहासिक जनान्दोलनको बलमा दुई सय चालिस वर्ष लामो राजतन्त्र ढल्यो। देशले नयाँ इतिहास रच्यो।
नेकपा माओवादीको दसवर्षे सशस्त्र विद्रोहको शान्तिपूर्ण अवतरण यही अवधिमा भयो। देशका सबै राजनीतिक शक्तिहरू परिवर्तनको पक्षमा एकैठाउँमा उभिए। संसद् पुनः ब्युँतियो। जनसर्वोच्चता स्थापित भयो। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना आफैंमा ऐतिहासिक र क्रान्तिकारी उपलब्धि थियो। देश धर्मनिरपेक्ष र जातीय छुवाछुतमुक्त घोषित भयो। मुलुकले समानुपातिक समावेशी प्रणाली अवलम्बन गर्यो। त्यसबेला दलहरूले तय गरेको राजनीतिक कार्यदिशा जनपक्षीय, राष्ट्रहित अनुकूल र परिवर्तनमुखी थियो।