केही दिनयतादेखि निरन्तर परेको वर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुबान तथा बाढीले प्रभावित भएका छन्।
प्राकृतिक विपद्का कारणले करिब पाँच सय घरपरिवारका कम्तीमा तीन हजार पाँच सय विस्थापित भएका छन्। सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन्। राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका– २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा तीन सय घरधुरी विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।
‘विस्थापित भनेका जोखिम देखेर घर छाड्नेहरु हुन्,’ उनले भने। विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखिएको र केही घरसमेत फिर्ता भएको उनले बताए। बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको छ। त्यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ र २० का तीन सयभन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका छन्। बाढीले नरैनापुरका दुई सय घर भत्केका छन्। त्यहाँका छवटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन्। डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए।
उनले पीडितलाई राहत र उद्धारका लागि पटक–पटक अनुरोध गरेको जानकारी दिँदै चार दिनदेखि विद्युत्समेत नभएको बताए। नरैनापुरका बनियागाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर, पचपेडवा, घोडदौरिया, पण्डितपुरवा, जमुनाहालगायत धेरै बस्ती डुबानमा परेका छन्।
‘यहाँका सबै स्थान पानीले भरिएको छ,’ उनले भने। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावतिको तथ्याङ्क सङ्कलन गर्ने, तत्कालका लागि सुक्खा खाना उपलब्ध गराउने निर्णय गरेको छ। बाढी र डुबानबाट पीडित भएकालाई पुनःस्थापना र राहतका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानीय सरकारले राहत उपलब्ध गराउने निर्णयसमेत भएको सूचना अधिकृत ज्ञवालीले जानकारी दिए।
डुडुवामा राहत व्यवस्थापन
डुडुवा गाउँपालिकामा बाढीपीडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ। गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सयलाई पुग्ने गरी तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेको बताएका छन्।
डुडुवा– १ का छिटाइपुर्वास्थित दुई पाझा टोलका करिब एक सय २० र सोही वडाअन्तर्गत कृषि चौफेरी, बोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब दुई सय ५० अहिले बाढी र डुबानबाट वस्थापित भएर गाउँ नजिकै पालिकाले निर्माण गरेको आश्रयस्थलमा बसिरहेको अध्यक्ष चौधरीले जानकारी दिए। उनका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि आश्रयस्थलमा पुगेका स्थानीयलाई अहिले तत्काल तयारी खाजा र चार–पाँच दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ। उनले केही दिनसम्म स्थानीय पीडित भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गर्दै गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने जानकारी दिए।
– रासस