अमरेश सिंहको नाम नराखी कांग्रेस मधेश प्रदेशले प्रतिवेदन बुझायो 

नेपाली कांग्रेस मधेश प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

जसअनुसार सर्लाही–४ बाट महामन्त्री गगनकुमार थापाको नामसमेत सिफारिस गरेको कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंहले न्युज कारखानालाई जानकारी दिए। 

उक्त क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए। तर, गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा अनुशासनको कारबाहीमा परेपछि क्षेत्र र जिल्लाले सिंहको नाम काटेर महामन्त्री थापाको नाम सिफारिस गरेको थियो। 

क्षेत्र र जिल्लाकै सिफारिसलाई अनुमोदन गर्दै प्रदेशले पनि सर्लाही–४ का लागि थापाकै नाम सिफारिस गरेको उपसभापति सिंहले जानकारी दिए। २०७० र २०७४ मा निर्वाचित भएका सिंहको नाम यसपटक अनुशासनको कारबाहीमा परेपछि काटिएको हो। 

कांग्रेस मधेश प्रदेशले शनिबार आफ्नो प्रदेशको उम्मेदवारको नामसहित केन्द्रीय कार्यसमितिलाई बुझाएको प्रतिवेदनमा सिंहको नाम कुनै पनि क्षेत्रबाट सिफारिस नगरेको उपसभापति सिंहले न्युज कारखानालाई बताए।

क्षेत्र र जिल्लाले आफ्नो नाम सिफारिस नगरेपछि सिंहले प्रदेशमा निवेदन दिएका थिए। सर्लाही–४ बाट आफू निर्वाचित हुँदै आएको र अहिले पनि आफ्नो नाम सिफारिस गर्नुपर्ने भन्दै अमरेशकुमार सिंहले निवेदन दिएको उसभापति सिंहले बताए। तर, उनको निवेदनमाथि कुनै कारबाही नगरिएको उनले जानकारी दिए। 

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कांग्रेस सर्लाहीले अमरेशकुमार सिंहलाई अनुशासनको कारबाही गरेको थियो। 
 

प्रकाशित मिति: : 2022-09-11 20:29:00

प्रतिकृया दिनुहोस्