(फलाेअप) छोटो समयको कोर्षले ज्योतिषी बनिँदैन, केही ज्योतिषीहरू कारवाहीमा!

केही समययता नेपालमा ज्योतिष पढ्नेहरुको संख्यामा वृद्धि भएको देखिएको छ। ज्योतिष पढेर सकेकाहरु तथा लामो समयदेखि यही पेसामा आवद्ध भएकाहरुले विभिन्न कक्षा सञ्चालनमा ल्याएका छन। तर उनीहरुले सिमित ३ वा ६ महिने तालिम दिने गरेका छन्। जसअनुरुप उनीहरुले पढ्न इच्छुक विद्यार्थीहरुबाट राम्रै रकम लिने पनि गरेका छन्।

जानकारका अनुसार ७ हजार देखि १८ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ। छोटो समयको तालिमपश्चात निकाल्ने अधिकांश उत्पादनमा नैतिक शिक्षा र नैतिक आचरणको कमी देखिएको छ।

यस्तै अनलाइन कक्षा, ज्योतिषी सदस्यता तथा विकृतिलगायतका विषयहरुमा रहेर बिएल नेपाली सेवाकाे टिमले ज्योतिष विद्यामा लामो समयदेखि क्रियाशील रहेका विभन्न व्यक्तिहरूसंग कुराकानी गरेका थियाे। उनै व्यक्तित्वहरूकाे भनाइ जस्ताकाे त्यस्तै यहाँ प्रस्तुत गरिएको छ।


ज्योतिष विद्यामाथि मौलाउँदो विकृति


डा. नारायण प्रसाद निरौला, प्रोफेसर, वाल्मीकि क्याम्पस

विद्यालय लेभलको ज्योतिष विद्याको शिक्षक बन्न सास्त्री गरेको हुनुपर्दछ भने विश्वविद्यालयको लागि न्यूनतम आचार्य गरेको हुनुपर्दछ। ३ महिना वा ६ महिनाको कोर्षले कुनै अर्थ राख्दैन। यो भनेको सामान्य जानकारी मात्रै हो।

एउटा योग्य डाक्टर बन्नका लागि एमबीबीएस पढेको हुनु पर्दछ। हो, त्यस्तै गरेर योग्य ज्योतिषी बन्नका लागि कम्तिमा स्नातक हुनुपर्दछ। नियमअनुसार उपयुक्त चिना हेर्ने भनेको सूर्य उदय अर्थात् अस्त नहुँदै उपयुक्त हुन्छ। तर विदेशमा उज्यालो हुने नेपालमा रात पर्ने हुन्छ, यो परिस्थिमा कुनै पनि जरुरी समस्याको समाधान गर्नका लागि रातमा पनि हेर्नुपर्छ।

ज्योतिषीहरुले ल्याएको विकृति नियन्त्रण गर्ने निकाय हुनु पर्दछ। नेपाल सरकारले कुनै निकाय गठन गरिदिनुपर्छ। त्यसपछि मात्रै त्यसको समन्वय हुनसक्छ। कलि लागेको छ सबैलाई। केहीले आफ्नो धर्म निर्वाह नगर्दाखेरी विकृति देखिन्छ। यसको लागि कुनै नियामक निकाय भएको खण्डमा विकृति रोकिन सक्छ।


फलो-अपः मौलाउँदैछ ज्योतिष-व्यापार !


माधवराज पाण्डे, प्रोफेसर, वाल्मीकि क्याम्पस

सबैभन्दा पहिलो कुरा हाम्रोमा पठनपाठन, अनुशासनको पद्धति क्षीण भएको छ। यसकारणले कसैले कुनै विषयको, कुनै प्रकारले दुई/चार अक्षर बुझाउन सक्यो भने उसले आफूलाई धेरै नै विद्वान ठान्छ। जब ज्योतिष विद्या गुरुको आश्रयमा रहेर अध्ययन गरिन्छ अनि बल्ल ज्योतिष विद्याको गहिराइ थाहा हुन्छ। जब योभन्दा बाहिर बसेर व्यापारको आँखाले ज्योतिष विद्यालाई हेर्न थालिन्छ, तब त्यहाँबाट विद्याको अपमान हुन्छ। अहिले बजारमा भएको अवस्था त्यही हो।

जुन चिजको लागि जुन दृष्टि हुनुपर्ने हो त्योभन्दा फरक दृष्टिले हेर्नु स्वतः गलत हुन्छ। ज्योतिष विद्याको शिक्षक हुनलाई गुरुको आश्रयमा रहेर, उहाँको निर्देशनमा, नियम आचरणमा रहेर शास्त्र सम्मत रूपमा अध्ययन गर्नुपर्दछ। हामीले सानो बच्चालाई सुरुमा पढाउने भनेको बाह्रखरी हो, यो पढाइ हामीले जीवन रहेसम्म पढ्ने हो।

त्यसैले छोटो समयको ज्योतिष विद्याको कोर्ष लिँदै आफ्नो ज्ञानको दायरा बढाउन पाइन्छ तर सबै कुरा पाइयो भनेर भन्न मिल्दैन। मैले आफूले आफूलाई ज्योतिषी भन्न सक्दिनँ। कहिँकतै पनि लेख्दिनँ र ज्योतिषको विद्यार्थी भन्न पनि डराउँछु। त्यसैले यो  गाह्राे कुरा हो।


फ्लोअप : नेपाली ज्योतिषीहरूमा बढ्दै गएको विकृति


लोकराज पौडेल, अध्यक्ष, विश्व ज्योतिष महासंघ नेपाल

ज्योतिष प्रशिक्षण लिएको या त कुनै आधिकारिक विश्व विद्यालयबाट अध्ययन गरेको वा कुल परम्परागत रूपमा काम गरेर आएको आधारलाई आधार बनाएर महासंघले सदस्यता प्रदान गर्ने गरेको छ। प्रविधिअनुसार अनलाइनमा ज्योतिषी सिक्नु गल्ती होइन तर कसरी कुन अवधिको भन्नेमा फरक पर्दछ। अनलाइनमा छोटो ज्योतिष विद्या लिएको भरमा मात्रै ज्योतिषी बन्न सकिँदैन तर सिक्ने माध्यम हुनसक्छ।

ज्योतिष विद्या भनेको गुरुमुखी र दैवी विद्या पनि हो। यसले गर्दा अनलाइनबाट ३ वा ६ महिनाको प्रशिक्षण लिएर ज्योतिषी बनिँदैन, भइँदैन। यसको लागि यसैमा ५/७ वर्ष काम गर्नु पर्दछ र परिपक्वता आउँछ।

छोटो समय कोर्ष लिएको भरमा कोही पनि विज्ञ हुन सक्दैन। विश्व ज्योतिष महासंघले कसैलाई पनि सिधै ज्योतिषी भनेर सदस्यता दिँदैन। नेपाल सरकारले ज्योतिषीसम्बन्धी कुनै कानुन बनायो भने सोही दायराबाट आचारसंहिता तथा नीति नियम बनाउने काम हुनेछ।

लक्ष्मण पन्थी, सभापति, दक्षिण एसियाली ज्योतिष महासंघ

ज्योतिषीहरूकाे क्रियाशील संस्था भनेका विश्व ज्योतिष महासंघ, नेपाल ज्योतिष परिषद र दक्षिण एसियाली ज्योतिष परिषद हुन्। हामीले ज्योतिषीहरुको हक र हितका लागि काम गर्छौँ। यसभित्र रहेर विकृति हटाएर नियगमन गर्ने गरेका छौं।


नेपालमा ज्योतिष विद्याको क्रेजसँगै विकृति पनि बढ्दो


कत्तिको गुणस्तर ठाउँमा पढ्ने, कत्तिको ज्ञान भएको शिक्षकसंग पढ्ने, पढाउने शिक्षकले कतिसम्म ज्ञान लिएको, अध्ययन गरेको सबै कुरा विद्यार्थीले बुझेर लिनु पर्दछ। ज्योतिषी लाइसेन्सको लागि नेपाल सरकारसंग हामीले आवाज उठाइरहेका छौं।

नेपाल पञ्चाङ्ग निर्णायक समिति  नेपाल सरकारको अंग हो। त्यो संस्थासंग हामीले मिलेर कार्य गर्ने कुरा छ। अहिलेसम्म त्यस्तो कुनै नियमन छैन। नेपाल सरकारले यसलाई हेर्ने दृष्टिकोण पनि फरक नै छ। बीचमा ज्योतिष विद्यासम्बन्धी विवाद पनि आइरहेको छ, हामीले ज्योतिषीहरूलाई सचेत पनि गराइरहेका छौं। कुनैकुनै ज्योतिषीहरुलाई कारवाही गर्ने प्रक्रियामा पनि हामी अगाडि बढिरहेका छौं।

प्रकाशित मिति: : 2022-09-12 06:00:00

प्रतिकृया दिनुहोस्

    मेरो नाम लक्ष्मण भण्डारी हो । वर्तमान समयमा वसाई बुटवल रहेको छ । सन १९९९ मा मैले कृष्णमूर्ति पद्धति स्वयं कृष्णमूर्ति गुरुको सस्था केपि स्टेलर एस्टोलोजि रिसर्च इन्स्टिच्यूट बाट सिकेको थिए । जहासम्म मलाई लाग्छ कृष्णमूर्ति पद्धति सिक्ने विद्यार्थिहरुको संख्या लाखौमा रहेको छ र सिक्न चाहने विद्यार्थिहरुको संख्या पनि उत्तीकै वढिरहेको छ । ३ वर्ष अगाडी सम्म म आफ्नै तरिकाले अगाडी वढिरहेको थिए । ग्रुपमा कृष्णमूर्ति पद्धतिद्धारा लेख्ने क्रममा एकजना साथिले मलाई सोध्नु भयो , यो कहा सिक्न पाइन्छ म धेरै नै रुचि छु । मैले एकजना इण्डीयन गुरुको नाम सिफारिस गरे सायद उहाले फि धेरै लिनुभएहोला, मैले अफोर्ड गर्न सकिन, लौन गुरु तपाइले सिकाइदिनुहोस, भन्नुभयो, तव सम्म सिकाउने मेरो कुनै सोचाइ नै थिएन । मेरो गुरु हरिहरन कृष्णमूर्ति, अजय मिश्रको सहयोग र सल्लाहमा नेपालमा पनि यो सिस्टम विस्तार गर्न निर्देशन दिनुभयो । सोहि अनुसार मैले पहिलो पटक कृष्णमूर्ति पद्धति नेपालमा सिकाउन सुरु गरे, मैले सुरु गर्दा नेपालमा ९९ प्रतिसत कसैलाई पनि कृष्णमूर्ति पद्धतिको वारेमा जानकारी थिएन । शुरुमा मलाई बुझाउन समस्या भयो, कहा छ यो नियम शास्त्रमा, पराशर भइटोपल्ने लगायत अन्य मिठास पूर्ण शब्दावलीहरुको गुच्छमाला मैले पहिरीनु पर्यो । सायद मैले सिकाएको पद्धतिमा मानिसहरुको रुचि बढ्नाले विरोधिहरुको स्वर सानो हुदै गयो र जसले मेरो विरोधमा शव्द खर्चिनुभएको थियो उहाहरु नै मतिर नजिकिनु भयो । तर आज ९९ प्रतिशत सवैले थाहा पाइसक्नुभयो र यो पद्धतिवाट चिना हेराउन चाहनेको संख्यामा पनि उल्लेख्य वृद्धि हुन थालेको छ र केहि समय पश्चात ५० प्रतिशत जातकले केपि सिस्टमवाट चिना हेराउने हो भन्न थाल्नेछन् यो मेरो बुझाइ हो । मैले बुझेसम्म ,आज सम्म कुनै पनि विश्वविद्यालय, गुरुकुल तथा कहि पनि आधिकारीक रुपमा यो पद्धतिको पढाइ भएको छैन । इन्स्टिच्यूट तथा व्यक्तिगत रुपमा सिकाइएको पाइन्छ । यो लेखको आशय मैले के बुझे भने, ३ महिने, ६ महिने ज्योतिष सिकाउनु गलत हो । ३ महिना, ६ महिनामा ज्योतिष भइदैन, यो ध्रुव सत्य कुरा हो । तर मेरो अनुभवमा जति पनि ज्योतिष सिक्न आउनु हुन्छ, उहाहरुले धेरै नै जानिसक्नुभएको हुन्छ, सिस्टमेटिक र गुरुको अभाव महसूस भएको हुनाले हिम्मत र साहसको लागि नै आउनुहुन्छ । कृष्णमूर्ति पद्धति एउटा यस्तो सटिक कोर्ष हो, सिमित अवधिमा, धैर्य, लगाव, मेहनत र इन्टियूसन पावर भयो भने, उच्चकोटिको ज्योतिष वन्न सक्ने मेरो व्यक्तिगत अनुभव रहेको छ, जुन कुरा मैले पढाएका विद्यार्थीहरुवाट पनि देख्न सकिन्छ । विएल टिमलाई मेरो प्रश्न रहेको छ, के यो पद्धति सिकाउनु मेरो गल्ति हो ? यदि गल्ति हो भने माफि माग्न मलाई कुनै आपत्ति छैन । यो लेखमा विकृतिको पनि कुरा आयो यो ३ महिनेको कारणले आएको होइन, यदि यस्तो हुन्थ्यो भने, नेपालको केन्द्रिय विश्वविद्यालयको हालत देख्नुभएकै होला, अन्यको झन के हालत होला । एउटा टिभि पत्रकारले नेपालका वरिष्ठ ज्योतिषहरुको अन्तरवार्ता लिएको भिडियो पनि हेर्नुभए होला नै, विकृति आएको वरिष्ठहरुवाट नै हो, उहाहरुवाट सिक्ने अरुले हो । ३ महिने ज्योतिषीमा त्यति धेरै क्षमता हुदैन कि विकृति नै ल्याउन सकुन । तर मैले पढाउदा यो विकृति नआओस, कुण्डली देख्ने वित्तिकै जातकको सातो खाइदीएर उपायको नाममा लुट धन्धा नचलाओस भनेर, नियमित ध्यानको अभ्यास गर्न लगाउछु । ग्रहले लेखेको भोग्नै पर्दछ, रिमेडि भनेको सान्त्वना दिनको लागि मात्रै हो, ९ वटै ग्रहको एउटै रिमेडि हुन्छ ध्यान, न खर्च न तनाव आनन्ददायि जीवन , यो मेरो मान्यता रहेको छ र मैले जतिलाई सिकाए सवैलाई यहि नियम अनुसरण गर्न निर्देशन पनि दिने गरेको छु । तैले गल्ति गरिस भनिदिनुहोला , आजैको मिति देखि म कसैलाई सिकाउने दुस्शाहस गर्ने छैन ।

    • 2 बर्ष अगाडि
    • Laxman