उर्लाबारीकी रोजिना श्रेष्ठको सानैदेखिको चासोमा थियो, मेकअपमा। त्यहीपनि ‘डान्स’को कारण।
बालखदेखि नै उनी नृत्य गर्नमा सिपालु थिइन्। स्कुलको कार्यक्रममा मात्र होइन महोत्सवमा पनि नाच्ने गर्थिन् रोजिना। त्यही नाच्नेक्रममा उनले पहिलोपटक मेकअप गरेको देखेकी थिइन्।
सुरुमा त उनले मेकअपमा त्यतिधेरै ध्यान दिइनन्। तर नाच्दा श्रृङ्गारिनुपर्छ भनेर बुझेपछि रोजिनाको रुची बन्यो मेकअप।
‘मलाई डान्स गर्न मनपर्छ। तर डान्स गर्दा मेकअप गर्नुपर्छ भन्ने थाहा पाएपछि मैले मेकअप आर्टिस बन्छु भनेर सोच्न थालें’, नृत्यले सिकाएको थियो रोजिनालाई मेकअपको महत्व।
‘मेकअप आर्टिस’ बन्ने सपना बुनेकी रोजिनाले घरमा आफ्नो योजना सुनाइन्। तर उनको योजनालाई स्वीकारेनन् परिवारले।
त्योबेला नपढेकाहरू मात्रै सौन्दर्य क्षेत्रमा काम गर्छन् भन्ने जनविश्वास थियो। त्यही भ्रमको सिकार भएकी थिइन् रोजिना पनि।
भलै, परिवारले उनको कुरालाई अस्विकार गरिदिए। त्यहीपनि हार मानिन् रोजिनाले। आफ्नो कुरामा टिकिरहिन्।
र, ‘प्लस–टु’ सक्काएर उनी सपनाको सहर काठमाडौं हानिइन्।
६ वर्षअघि काठमाडौं छिरेकी उनी अन्योलमा परिन्। अब के गर्ने? न परिवार थियो साथमा न त पैसा नै। थियो त मात्र मेकअपमा करिअर बनाउँछु भन्ने उनकाे विश्वास।
‘म मध्यम वर्गमा हुर्किएकी छोरी थिएँ। त्यसैले चाहेजति पैसा थिएन। त्यही आर्थिक अभावकाे कारण मैले धेरै पढ्न पनि पाइनँ तर मभित्र जूनुन थियो काम सिक्ने अनि जागिर गर्ने’। त्यही अटोटले रोजिनालाई काठमाडौंमा टिकायो।
आफ्नो सपनालाई पूरा गर्न सहर छिरेकी रोजिनाको आफन्त पनि थिए काठमाडौंमा।
तर भनिन्छ, नि दुःख परेकोबेला आफ्नाले पनि साथ दिँदैनन्। ‘आफूसँग पैसा हुँदा मात्र आफन्त आफ्नो हुँदो रहिछ। दुख पर्दा कोही नहुने रहेछ’, आफूले भोगेका अनुभव सुनाइन् उनले।
दुखको बेला आफन्तले नहेरेपछि उनी आफ्नी एउटी साथीसँग बस्न थालिन्। त्योबेला साथीकी एक दिदी थिइन्। उनै दिदीले बस्नका लागि अनुमति दिएकी थिइन् रोजिनालाई।
ती दिदीको होटल थियो। रोजिना र उनकी साथी त्यही होटलको माथिल्लो कोठामा बस्थे। तर होटलमा आउने सबै ग्राहकहरूको नियत कहाँ राम्रो हुन्थ्यो होला र!
होटल आएका ग्राहक देख्दा रोजिनालाई अप्ठारो लाग्थ्यो।
उनी सोच्ने गर्थिन्, ‘हाेटलकाे माथिल्लाे काेठामा बसेका छाैं। हामीलाई नराम्रो सोच्दा होलान् ग्राहकले।’ त्यही सोचले उनलाई काम गर्नका लागि झक्झकाइरह्याो।
त्यसपछि उनी दुई–चार पैसा कमाउनका लागि काठमाडौंका गल्ली–गली भौतारिन थालिन्। र, पुरानो बानेश्वरको एक कपडा पसलमा काम पाइन्।
१० हजार रुपैयाँमा काम गरिरहेकी रोजिनाले आफ्नो व्यक्तिगत खर्च उठाइरहेकी थिइन्। तर मनमा सन्तृष्टी थिएन। आफैंसँग उनी भन्ने गर्थिन्, ‘कपडा पसलमा काम गरेर के गर्नु? भविष्य बन्दैन। अब मैले मेरो सपना पूरा गर्नेपर्छ।’
मेकअप आर्टिस बन्ने हुटहुटीले काठमाडौं आइपुगेकी उनले ब्यूटीसम्बन्धी तालिम सिक्नका लागि विभिन्न ब्यूटी एकेडेमीहरूमा बुझ्न थालिन्।
त्यहीक्रममा उनले अनलाइनमा ब्यूटीसम्बन्धी तालिम दिइरहेको एक एकेडेमीबारे बुझिन्। त्यसपछि रोजिनाले थाहा पाइन् कि मेकअप आर्टिस् बन्नका लागि विभिन्न तालिम लिनुपर्छ।
‘मलाई लाग्थ्यो कि मेकअप सिक्नका सानोतिनो तालिम हुन्छ। तर म भ्रममा रहेछु। ब्यूटीसम्बन्धी त धेरै तालिमहरू लिनुपर्ने रहेछ’, उनले भनिन्, ‘त्यसपछि मलाई झनै ब्यूटीसियनमा चासो बढ्न थाल्यो। सबै कोर्शहरू सक्न मन लाग्यो।’
उनलाई ब्यूटीसम्बन्धीका सम्पूर्ण कोर्शहरू सिक्नका लागि ५० हजार रुपैयाँ चाहिएको थियो। त्यसैले उनले गाउँमा भएका बुबालाई फोन गरेर पैसा मागिन्।
‘ड्याडी, मलाई ५० हजार रुपैयाँ चाहियो। यति पैसा पठाइदिएर विश्वास गरिदिनुस्। त्यसपछि म तपाईंलाई एक रुपैयाँ पनि माग्ने छैन’, रोजिनालाई अझै याद छ बुबासँग गरेको त्यो ‘रिक्वेट’।
बुबाले पनि छोरीले नयाँ काम सिक्दैछिन् भनेर खोजखाज गरेर ५० हजार काठमाडौं पठाइदिए।
त्यसपछि खुल्ला भयो, ‘ब्यटीसियन’ बन्ने रोजिनाको बाटो।
‘हाम्रो लागि ५० हजार भनेको ठुलै रकम हो। तर मेरो ड्याडीले कहाँबाट पठाइदिनुभयो थाह छैन’, भावुक हुँदै रोजिनाले भनिन्, ‘मेरो परिवारले मलाई धेरै सर्पोट गर्नुभएको छ।’
भक्तपुरको सल्लाघारी बस्थिन् रोजिना। तर उनको लागि तालिम लिने ठाउँ थियो बौद्ध। जहाँ उनी कहिल्यै पनि गएकी थिइनन्। त्यहीपनि खोज्दै–सोध्दै उनी बौद्धसम्म पुगिन्।
बौद्ध पुगेर पहिलोपटक तालिम लिँदा उनी निकै खुसी भएकी थिइन्। त्यहीअनुसार रोजिनाले काम पनि सिक्दै गइन्।
उनमा काम सिक्ने जुनून यतिधेरै थियो कि उनले समयअगावै ब्यूटीसम्बन्धीका सम्पूर्ण तालिमहरू पूरा गरिन्। र, त्यही काम गर्न पनि सुरु गरिन्।
‘मैले काम सिक्न कहिल्यैपनि कन्जुस गरिनँ। जतिसक्दाे समय दिएँ। सधैं बेस्ट गरें तर सहज भने थिएन। त्यतिबेला मसँग खाजा खाने समेत पैसा हुँदैन थियो’, बिएल नेपाली सेवासँग भक्कानिंदै उनले भनिन्, ‘त्यो कुरा सम्झिदा अहिले पनि नरमाइलो लाग्छ। तर मैले मेरो सबै समय काममा समर्पित गरें।’
जहाँ काम सिकिन्, त्यही काम पाएर खुसी थिइन् रोजिना। त्यसपछि त उनी झनै काममा खटिन थालिन्। दिनरात नभनी काममा पोख्त भइन्।
सायदै, कामप्रतिको लगावकै कारण उनी त्यही एकेडेमीमा साधारण कमचारीबाट ‘शाखा प्रबन्धक’ भइन्।
उनीमाथि कामप्रतिकाे जिम्मेवारी पनि थप्पिदैं गयाे। नयाँ जाेश र जाँगरका साथ उनले पनि काम गर्दै गइन्। र, ग्राहकहरूलाई पनि कामले लोभ्याउँदै गइन्।
लामो समय ‘ब्यान्च म्यानेजर’ बनेर काम गरेकी रोजिनालाई एकदिन परिवारले नै एउटा सल्लाह दिए, ‘अब तिमी आफैं ब्यूटी हब खोलेर बस्।’
उनको मनमा भने एउटा त्रास थियो, ‘सक्दिनँ होला!’ तर उनीसँग विश्वास थियो परिवारको।
त्यही विश्वासको आधारमा उनले पनि जीन्दगीमा एउटा ‘रिक्श’ लिने योजना बनाइन्। तर त्यसको लागि लगानी चाहिन्थ्यो।
‘सबै परिवारले मलाई आँट र विश्वास गर्नुभयो। त्यसैले मैले पनि आफ्नै ब्यूटी हब खोल्ने निधो गरें। तर मैले मात्र बचत गरेर राखेको पैसाले सम्भव थिएन’, उनले सम्झिइन्।
आफूसँग मात्रै ब्यूटी हब खोल्ने पैसा नभएपछि उनलाई एक शब्दमै सहयोग गर्न तयार भए परिवार।
त्यो देखेर खुसी भएकी रोजिनाको मनमा झनै आत्मविश्वास बढ्यो।
त्यसपछि सुरु भयो ‘रिफाइन्ड ब्यूटी हब’
रोजिनाप्रति परिवारले देखाएको विश्वास र आँटको कारण नै साढे तीन महिनाअघि सञ्चालनमा आएको थियो, ‘रिफाइन्ड ब्यूटी हब’। तर अहिले ग्राहकहरूको रोजाईंको ‘हब’ बनिरहेको छ।
ब्यूटीसम्बन्धी विभिन्न सेवा–सुविधालगायत तालिम दिइरहेको रिफाइन्डबारे सिइओ श्रेष्ठ भन्छिन्, ‘ग्राहक र स्टुडेन्टको सन्तृष्टी नै मेरो खुसी हो।
आफू एक्लैले मात्र ब्यूटी हब हाँक्ने आँट गरेकी रोजिनासँग अहिले ६–७ जना कमचारी छन्। र, ५५ जना जिद्यार्थी।
‘सायद, मेरो कामकै कारणले पनि होला रिफाइन्ड चाँड्डै हाइलाइटमा आयो’, उनी भन्छिन्, ‘मलाई मेरो म्यामहरूको पनि धेरै साथ छ।’
कुनैबेला एउटा कमचारी भएर काम गरेकी रोजिना र अहिले रिफाइन्डकी सिइओ भएकी रोजिनामा धेरै भिन्नता भएको उनी बताउँछिन्।
रिफाइन्डकी सिइओ रोजिना भन्छिन्, ‘कमचारी हुँदा आफ्नो कामलाई कसरी राम्रोसँग गर्ने भनेर मात्र सोचिन्थ्यो भने अहिले म आफ्नो लागि मात्र होइन। मसँग काम गर्ने मेरो म्यामहरूको भविष्यको बारेमा पनि सोच्ने गर्छु। अब मसँग उहाँहरूको भविष्य जोडिएको छ।’
शून्यबाट करिअरको सुरुवात गरेकी रोजिना आफूलाई भाग्यमानी ठान्छिन्। उनीसँग श्रीमानलगायत पूरै परिवारको विश्वास र साथ छ।
कुनैबेला उज्वल भविष्यको लागि छोरीलाई विदेश पठाउन खोजेकी आमाको साथ पनि अहिले रोजिनासँग छ। उनी सु्नाउँछिन्, ‘यदी म विदेश गएकी थिएँ भने मैले पैसा त कमाउँथें तर पहिचान कमाउन सक्दिनँ थिएँ। अहिले मेरो आमा पनि मसँग खुसी हुनुहुन्छ।’
पहिलोपटक काठमाडौं आउँदा रोजिनालाई वास्ता नगर्ने त्यही आफन्तले अहिले भने उनीप्रति गर्व गर्छन्। उनी भन्छिन्, ‘यो ठाउँमा आइपुग्छु भनेर कहिल्यै सोचेकी थिइनँ।’
गाउँबाट आएर काठमाडौंमा उद्यमी बन्न सफल रोजिनाको अब भने एउटै उद्देश्य छ, ‘ग्राहक र तालिम सिक्ने विद्यार्थीहरूलाई सन्तृष्टी बनाउने।’