फ्लोअप : नेपाली ज्योतिषीहरूमा बढ्दै गएको विकृति

Breaknlinks
Breaknlinks

चरित्रहीन स्त्रीका लक्षणहरू‘छोरा जन्माउने तरिका सुत्र’‘सावधान! महाविपतिको संकेत’

...उल्लेखित वाक्यहरू नेपाली ज्योतिषीहरूले सामाजिक सञ्जाल (युट्युब)मा राखेका भिडियोका शीर्षक हुन्। झट्ट हेर्दा लाग्छ, ‘अहो! अब विपति नै आउन लागेछ। वा, पूरै कमाल हुने संकेत पो देखियो।’ तर, त्यसो चाहिँ पक्कै हुँदैन। यी–यस्तै कारणले हजारौं वर्षदेखि मानिरहेको ज्योतिषीय विद्या हिजोआज नेपाली समाजमा ‘हावा’को विषय बनेको छ।

अचेल नेपाली ज्योतिषीहरू क्षणभरमै आफ्नो भिडियो सामाजिक सञ्जालमार्फत् दर्शक–स्रोतामाझ पुर्‍याउँछन्। उनीहरू लोकप्रियताका लागि ज्योतिष विद्याको मर्यादामाथि धावा बोलिरहेका छन्। चर्चाको नाउमा तल्लोस्तरमा झरेर प्रस्तुत भइरहेका छन्।

कुनै पनि ‘नारीलाई ज्योतिषीले चरित्रहीन वा धोकेबाज’ भन्ने अधिकार पाउँदैनन्। नारीबाटै जन्म लिएका कतिपय ज्येतिषीले भने यस्ता शब्द बोलिरहेका छन्। लेखिरहेका छन्। उनीहरूको कुकर्म आफैमा दुःखद रहेको जानकारहरू बताउँछन्।

नेपालमा तीन किसिमका ज्योतिषीहरू छन्। कुल परम्पराबाट भित्रिएका ज्योतिषी। विश्वविद्यालय पढेर आएका ज्योतिषी। कति अन्य छोटो तालिममार्फत् ज्योतिष कर्ममा लागेका ज्योतिषी।

श्री गुरू नामक युट्युब च्यानलबाट राखिएकाे ‘चरित्रहीन स्त्रीका लक्षणहरू  शीर्षककाे भिडियो टिकटकमा देख्न सकिन्छ। दुई–तीन दिन अगाडि राखिएको एउटा भिडियोमा ‘घोर्ले छोरो पाउन पुत्रदा एकादशीको व्रत राख्नुहोस्’, ‘छोरा जन्माउने तरिका सुत्र’ भनेर संदेश प्रवाह गरिएको छ। यस्ता सन्देशले ज्योतिषी तथा ज्योतिष विद्यामाथि नै प्रहार गरेको विश्व ज्योतिष महासंघ नेपालका एक पदाधिकारी बताउँछन्।

अध्यात्म ज्योतिष नामक युट्यूब च्यानलमार्फत् आएका कतिपय भिडियोका शीर्षकले भ्रम सिर्जना गर्ने गरेका छन्। ग्रहको परिवतर्नसँगै कुनै राशिको भाग्य चम्किन्छ भन्ने ठान्नु नै ज्योतिष विद्याविपरीत देखिन्छ। एउटै राशि भएका सबै व्यक्तिहरूको के भाग्य चम्किन्छ त ? के उनीहरू मालामाल हुन्छन् ? यो सबै आम मानिसलाई मूर्ख बनाउने तरिका मात्रै हो।

रोचक कुरा– ज्योतिषी रुद्रनाथ अधिकारी आजभोलि युट्युबमा भेटिन्छन्। ‘विनाशकारी हतियारको प्रयोगसम्म हुन सक्ने र ठूलै जनधनको नाश हुनसक्ने खप्पर योग। विश्वमा संकट आनेछ!’ एक महिना अगाडि राखिएको भिडियोको शीर्षकमा यस्तो छ। के ज्योतिषको काम यहीँ हो? यस्तै गरेर प्रस्तुत गरिन्छ, सामाग्री? आफ्नै देशको भविष्यवाणी गर्न नसक्ने ज्योतिषीले कसरी रसिया र अमेरिकाको युद्धको भविष्यवाणी गर्दैछन्। यसले स्वय् ज्योतिषी, ज्योतिष विद्यामाथि व्यंग गरेको छ।

ज्योतिष विद्या आफैंमा एउटा वैज्ञानिक विधा पनि हो। प्राविधिक समस्याका कारण भविष्यवाणी ठ्याक्कै मिल्दैन। तर, कतिपय युट्युबे नेपाली ज्योतिषीहरू आजकल मनलाग्दो भविष्यवाणी गरिरहेको नेपाली ज्योतिषशास्त्रीहरू बताउँछन्।

उल्लेखित प्रसंग युट्युबमा मात्रै होइन टिकटकमा पनि छ्यापछ्याप्ती छन्। नेपालमा ज्योतिष विद्यामाथि विकृति बढदै गएको काठमाडौँमा ज्योतिषी कर्मा गरिरहेका एक अग्रज ज्योतिषशास्त्रीले बताएका छन्। ‘तीन महिना वा छ महिनाको कोर्ष लिन्छन्। अनि ज्योतिष हुँ भन्दै टिकटक, फेसबुकतिर भेटिन्छन्। यसले ज्योतिष विद्यामा थप समस्या पनि थपिँदै गएको देखिन्छ,’ उनी थप्छन्।

दक्षिण एसियाली ज्योतिष परिषद् नेपालका अध्यक्ष लक्ष्मण पन्थीले सामाजिक सञ्जालमा ज्योतिषीका नाउमा आइरहेका कतिपय भिडियो सामाग्रीको शीर्षक आपत्तिजनक रहेको स्वीकार गरेका छन्। यो विषयमा आफूहरू गम्भीर रहेको पनि उनले बताएका छन्। ‘अब दक्षिण एसियाली ज्योतिष परिषद् नेपालको बैठक बसेर आवश्यक छलफल गर्छाै। युट्युबका मानिसहरूलाई नियमण गरिरहेका छौँ। ज्योतिष विद्याप्रति विकृति ल्याउनेहरुलाई कारबाही गर्छौ। मैले एक्लै गर्ने कुरा होइन, संस्थागत रुपमा अघि बढ्छौँ। लाखौँ जनताको विश्वासमाथि विकृति ल्याउने अधिकार कसैलाई छैन,’ पन्थीले भने।

छोटो समयमा तयार हुने ज्योतिषीहरूमा नैतिक शिक्षा, ब्यबहार, आचरणको कमी देखिएको दक्षिण एसियाली ज्योतिष परिषद् नेपालका एक सदस्यले बताएका छन्। बिएल नेपाली सेवामा ‘ज्योतिष विद्यामाथि मौलाउँदो विकृति’ शीर्षकमा समाचार आएपछि पत्रकार सन्तोष न्यौपानेमाथि एउटा समूह जाइलाग्यो। उनीहरूले न्यौपानेको विरोध गर्दै दमक अनलाइनकेटीएम दैनिक अनलाइनमा समाचार पनि प्रकाशित गरेका छन्।

समाचार आत्मज्ञान गुरुको नामबाट प्रकाशित भएको थियो। अहिले दुवै अनलाइनले समाचार आक्षेपपूर्ण भएको भन्दै हटाएका छन्। उनीहरूले बिएल नेपाली सेवामा प्रकाशित समाचार हटाउन दबाब पनि दिएका छन्।

दक्षिण एसियाली ज्योतिष परिषद् वाग्मती प्रदेशका सचिव उमेश दुलालले आफ्नो अनुमति बिना समाचारमा आफ्नो नाम राखिएको भन्दै पत्रकार न्यौपानेलाई आफ्नो नाम हटाउन दबाब दिएका छन्। तर, उनलाई नै न्यौपानेले समाचार प्रकाशितपूर्व ज्योतिष विद्यामाथिको विकृतिबारे उनी आबद्ध संस्थालाई उनीमार्फत् उजुरी दिएका थिए। स्रोतकाअनुसार आजसम्म त्यो उजुरीको कुनै सुनुवाइ भएको छैन।

‘ज्योतिष सिक्ने क्रममा भर्खरका युवाहरू विभिन्न क्षेत्रबाट आएका छन्, कोही गाडीको खलासी गर्दै गरेका छन् भने कोही घर बनाउनेहरू पनि छन्। उनीहरूलाई के बोल्ने भन्ने सिक्न अझै समय लाग्दछ। पहिला जे थियो बोली अहिले पनि त्यही हुनसक्दछ। बानी सुधार गर्न समय लाग्दछ। क्रियाकलाप परिवर्तन हुन समय लाग्छ,’ एक ज्योतिष शिक्षकले आफ्नो अनुभव सुनाएका छन्।

विश्व ज्योतिष महासंघ नेपालका अध्यक्ष लोकराज पौडेलले सामाजिक सञ्जालकाे विकृति राम्राेसित नियालिरहेको बताएका छन्। उनले ज्योतिषीहरूलाई आफ्नो आचारसंहिताभित्र बस्न पनि आग्रह गरेका छन्। ‘हामी कारबाही गर्ने आधिकारिक निकाय होइनौँ। तर, जनगुनासो आउँदा बेलाबेला विज्ञप्ति निकालेका छौँ। उनीहरूको कारण ठूलो वर्गलाई असर परेको छ,’ उनले भने।

अध्यक्ष पौडेलले आफ्नो संस्थामा जोडिएका यस्ता पात्रहरूलाई कारबाही गर्ने पनि जनाएका छन्। उनी भन्छन्, ‘कतिलाई कारबाही पनि गरेका छौँ। तर हाम्रो संस्थामा नजोडिएकालाई केही गर्न सक्दैनौँ। सरकारले लाइसेन्सको व्यवस्था गरोस्। सरकारले नियमण गरोस्। विकृति रोकोस्।’


ज्योतिष विद्यामाथि मौलाउँदो विकृति

प्रकाशित मिति: : 2022-08-10 22:50:00

प्रतिकृया दिनुहोस्