ज्योतिष विद्यामाथि मौलाउँदो विकृति

हिजो-आज श्री.गुरु नामको टिकटक आइडीबाट आफ्नो कुण्डली अर्थात् चिना देखाउनेको लामै लस्कर देखिन्छ। यी ज्योतिषको पहिरन अचम्मलाग्दो देखिन्छ। गाजल टन्न लगाएर चिटिक्क भएर टिकटकमा प्रस्तुत हुने गर्दछन्। यिनले विगत लामो समयदेखि टिकटकमार्फत् सूर्यास्तपछि नि:शुल्क चिना हेरिदिने गरेका भेटिन्छन। यिनी जस्तै धेरैको दैनिकी यसै गरेर टिकटक मै बितेको देखिन्छ।

त्यस्तै गरेर ज्योतिषी आदित्य, लक्ष्मन गुरु, अर्जुन सापकोटा, यस्ट्रो लाइफ ९९, एस्ट्रो दिनेशलगायतका नेपाली ज्योतिषीहरु रातकै समयमा चिना खोलिरहेका हुन्छन। उनीहरुको भविष्यवाणी ज्योतिष विद्याको नियम संगत भने देखिदैन। उनीहरुलागयत धेरैको एउटै उद्देश्य भनेकै टिकटकमा आफ्नो लोकप्रियता बढाउनु देखिन्छ। तर, यो संगै उनीहरुले ज्योतिष विद्याको मर्ममाथि ठाडो प्रहार गरेका छन। जुन सरासर गलत देखिन्छ।

ज्योतिष विद्यामाथि धज्जी उडाउनेहरुको क्रियाकलापबाट काठमाडाैँ घर भई अष्ट्रेलिया अध्यनरत नकुल चौलागाई दुखेसो पोख्दछन्। लामो समयदेखि ज्योतिष के हो ? ज्योतिषीय धर्म, आचरण के कस्तो छन् ? र वास्तवमै यसले के कसरी कार्य गर्छ ? भन्ने कुरा बुझ्ने प्रयास गरेका चौलागाईलाई विदेश आएपछि यो इछ्या झन् बढेको थियो। तर, आज-भोलि टिकटकका ज्योतिषका क्रियाकलापबाट आफूलाई दु:ख लाग्ने गरेको र धेरै नै खल्लो-खल्लो भाको अनुभव सुनाउँछन्। ‘ज्योतिषको सामान्य मर्यादा पालन नगरेको १२ राशि र ९ ग्रहको नाम रटेको भरमा टिकटक लागायतका सामाजिक संजालमा आई आफू ज्योतिषी भएको भन्दै शास्त्रीय मर्यादा नाघेर चाहिँदो/नचाहिँदो कुराहरु गरिरहेका हुन्छन्,’ नकुलको गुनासो गरे।

उनका अनुसार मानिसको भावनासँग खेलेर पैसा कमाउनकै लागि ज्योतिषी भनाउँदाहरुले आफूले आफूलाई जादुगर नै जस्तो गरेर घरी पानीको बोटल फलानो दिशामा छ, घरी तपाईंको भित्रि वस्त्र फलानो रंगको छ लगायतका बकम्फुसे कुरा गरी मानिसको हुँदै नभएका समस्या देखाइ महंगा पूजापाठ गराउने  धेरै छन्। सबैलाई ज्योतिषले कर्म र फलबारे व्याख्या गर्छ भन्ने नै थाह छैन सबैलाई पाठ पढाउनु जरुरी छ।

ज्योतिष विद्याको सामान्य नियम अनुसार औंशीकाे दिनमा, बुधबार  र सूर्यास्त पछाडि चिना खोल्न बन्देज लगायको पाइन्छ। विगतमा धेरै गुरुहरुले यो नियम कडाइका साथ पालना गर्दै आएका थिए। तर, समय र सफ्टवयरबाट चिना हेर्ने प्रविधि भित्रिएसँगै यो नियम आक्कल झुक्कलबाहेक कसैले पालना गरेको देखिँदैन। जसको उदारहण माथिका टिकटकमा व्याप्त ज्योतिषीहरु नै हुन्।

‘ज्योतिष शब्द आफैंमा ज्योतिसँग सम्बन्धित छ। ज्योतिषलाई सूर्यको साथ हुनुपर्दछ भनिन्छ। दिनमा चिना हेर्दा सूर्यको समर्थन हुन्छ, सूर्य सक्रिय हुन्छ,’ ज्योतिष विद्याप्रति रुचि राख्ने तथा सिक्दै गरेका भरत खराल भन्छन,‘ज्योतिष विद्यामार्फत् भविष्यवाणी गर्ने कुरामा सुद्धता आवश्यक देखिन्छ।’

समयको मागसँगै स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुमाझ ज्योतिष विद्याको लोकप्रियता बढ्दाे रहेको देखिन्छ। प्रविधिको उच्च पहुचसँगै विदेशमा बसेर स्वदेसकै नामी ज्योतिषीमार्फत् यो सुविधा लिनेहरुको कमि पनि छैन। तर, आज-भोलि नेपाली ज्योतिषीहरु सामाजिक सञ्जाल टिकटकमा नि:शुल्क समयको प्रवाह नगरिकन दिइने सुविधाले भने ज्योतिष विद्याको मर्ममाथि ठाडो प्रहार गर्ने काम पनि गरेको छ। यसरी मर्मलाई कुल्चेर अगाडि बढ्नेहरुमा अधिकांश पेसागत तथा सिकारु ज्योतिषी देखिन्छन।

झापा घर भई हाल हरिद्वारमा ज्योतिष विद्या अध्ययन गर्दै गरेका पुरुषोत्तम दाहाल सामाजिक संजालमा नि:शुल्क भाविष्यवाणी गर्ने अधिकांश ज्योतिषीहरुले ज्योतिषको अर्थ नै नबुझेको बताउँछन। ‘खासमा कुनै पनि जातकको कुण्डली हेर्दा सबैतिर बाट हेरेर मात्रै आफ्नो भविष्यवाणी गरिदिनुपर्ने हुन्छ तर अचेल लग्नकुण्डली हेर्दा बित्तिकै सबै भन्न सुरु गर्दछन्। न उनीहरु नवाम्स कुण्डली हेर्छन, न ग्रहको सन्धि नै हेर्ने गर्दछ,’ दाहालका अनुसार टिकटकका अधिकांश ज्योतिषीहरु षड्वर्ग कुण्डली खोलेको नै देखिदैन। जसले गर्दा उनीहरुले दिने भविष्यवाणीमै प्रश्न चिन्ह उठाउन सकिन्छ।

तर, यसमा केपी ज्योतिष सिकाइरहनु भएका ज्योतिषी लक्ष्मण भण्डारीको भने मिश्रित विचार रहेको छ। उहाँका अनुसार चिनालाई फूल दक्षिणा राखेर मात्रै खोल्नु पर्दछ, रातिमा खोल्नु हुँदैन तर सफ्टवयरबाट जन्ममिति राखेर खोल्नेलाई केही गर्न पर्दैन। जातकले म्यानुअल भन्यो भने नियम लागु हुँदैन।

सामाजिक संजाल र युटुबमा नेपाली ज्योतिष र त्यसको नकारत्मकता बारेमा विश्व ज्योतिष महासंघ नेपालमा उजुरी परेको महासंघ अन्तर्गत युवा समितिका अधक्ष्य हरिहर अधिकारीले बताए। ‘चिना जातक जन्मदा बनेको एउटा आकाशीय नक्सा हो। कसैलाई इमर्जेन्सी छ भने के छ अवस्था भनेर हेर्दिन पर्दछ, समाधान दिन पर्दछ। मान्छेलाई अप्ठेरो परेको छ, आज औँशी हो म केही उपाय दिन्न तपाईलाई भन्न मिल्दैन। कुन दिन बार्ने नबार्ने भन्नेमा कुनै कडा नियम छैन। ज्योतिष विद्यामा कुनै भेदभाव नराखी  कुनै पनि समयमा ग्रहको स्थिति हेरिदिन मिल्छ,’ अधिकारीले भने,‘अचेल ज्योतिषी विद्यालाई सस्तो बनाएका छन। अनावश्यक मान्छे आकर्षण गर्न मन लाग्ने तरिकाले सामाजिक संजाल युटुबमा प्रस्तुत हुन् पाइदैन तथा मनपरी कुरा गरेर मान्छेलाई भुलाउने काम गर्न पाइदैन। यसको लागि हामी छिट्टै कारबाही गर्ने तयारीमा छौ।’ अध्यक्ष अधिकारीका अनुसार महासंघमा आवद्ध ज्योतिषीहरुलाई कारबाही गर्ने तर अरुलाई सचेत गराउन पहल गर्ने योजना रहेको छ।

उता दक्षिण एसियाली ज्योतिष परिषद् वाग्मती प्रदेशका सचिव उमेश दुलाल पनि जुनसुकै समयमा चिना खोल्ने, टिकटक, युटुबबाट मनलाग्दी भविष्यवाणी गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताउँछन। यसको लागि परिषदमा मुख्य पदाधिकारीहरुले काम कारबाही गर्ने उनको भनाइ रहेको छ।

ज्योतिष विद्याको मर्मलाई कुल्चेर अगाडि बढ्नेहरुको वृद्धिसँगै ज्योतिषीमा हुने विश्वास पनि उत्तिकै घट्ने देखिन्छ। बेलैमा उचित कदम चाल्न नसकेको खण्डमा पेसागत मर्यादित ज्योतिषीहरु अप्ठेरोमा पर्ने निश्चित देखिन्छ। यसतर्फ नेपालमा विद्यमान रहेका ज्योतिष सम्बन्धी संघ सस्थाहरुको बेलैमा ध्यान पुगोस्।

प्रकाशित मिति: : 2022-08-04 08:41:00

प्रतिकृया दिनुहोस्