जुम्लामा हुने बिजुली अभाव र 'प्रकाश' को वर्ल्ड प्रिमियर

राष्ट्रिय प्रसारण लाइन जुम्ला पुगेकाे वर्ष दिन बढी भयाे। तर, दुई दिन जाने र एक दिन आउने हुनाले जुम्ला अँध्यारो छ। सदरमुकाम उज्यालाे हुन नपाएको ठाउँमा गाउँ उज्यालाे हुने त कुरै भएन।

सदियाैंदेखिका अँध्यारा गाउँ बस्तीका कथालाई टिपेर बनाइएको फिल्म हाे, 'प्रकाश'। जहाँका अँध्यराे दृश्यले प्रकाश खाेजिरहेका छन्। त्याे प्रकाशभित्र अस्तित्वकाे खाेजी त छ नै। अदृश्य रुपमा बिजुलीको खाेजी भइरहेकाे महसुस त्यतिबेला भयाे जतिबेला फिल्म चलाउन जेनेरेटरकाे बन्दाेबस्त गर्नुपर्‍यो।

ऋणमाेक्ष माध्यमिक विद्यालय स्थापना गरि चाैधबीस क्षेत्रलाई कर्मथलाे बनाएका मानवशास्त्री डाेरबहादुर विष्टले तिर्खु आसपासका क्षेत्रमा तीनवटा साना जलविद्युत आयाेजना निर्माण गरि बस्ती उज्याला बनाएका थिए। उनी हराएसँगै गाउँकाे उज्यालो पनि हरायाे।

त्यसैले गाउँलेहरु दियालाेकाे राँकाेले उज्यालोकाे खाेजी गरिरहेका छन्। गाउँकाे दुरावस्ता, मास्टरी गर्न घुस खुवाउनु पर्ने बाध्यता लगायतका दृश्य समेटेकाे फिल्मले २१ ओैं शताब्दीमा दिउँसाे देखिने सुर्यको प्रकाश जस्तै गाउँ बस्तीकाे कल्पना गरेकाे छ। अब याे पनि भन्न सकिन्छ कि दियालाेकाे राँकाे सल्काएर ओहाेरदाेहाेर गर्नु बिजुलीकाे पहुँचबाट बुमुख हुनुपरेकाे परिस्थिति समेत देखाउनु हाे।

दुर र सुदुरका कथाहरु फिल्ममा देखिन थालेपछि समाजकाे वास्तविक चित्र देखिदैछ। प्रकाश फिल्म रिलिज हुँदा सुविधा सम्पन्न शहरका हलहरुमा पप्कन खाँदै दृश्यमा मनाेरञ्जन लिने दर्शकहरुले वास्तविक नेपाल बुझ्नेछन्।

वि.सं १९६८ काे मितिबाट हिसाब गर्दा एसियामै दोस्रो पटक फर्पिङ जलविद्युत परियोजनाबाट उत्पादित बिजुली बाल्ने काठमाडौंबासी र त्यसकाे एक शताब्दी कटेर अर्काे एक दशक कटिसक्दा पनि  बिजुली बाल्न नपाउने चाैधबीसबासीका कथाहरु उस्तै छैनन्।

काठमाडौं लगायत सुविधा सम्पन्न सहरका हलहरुमा एकैसाथ रिलिज हुने 'प्रकाश' फिल्मकाे कथा अर्गानिक लागे पनि देशकाे दुरदराजकाे अवस्थासँग मेल खाने कथाकाे स्वाद अमिलो हुनेछ। 

नदेखेकाे यमानकाे क्याेमरा, त्यही क्यामेराले कैद गरेकाे आफ्नै जीवनशैली, रहनसहन, भाषा, भेषभुशा, सँग मेल खाने दृश्य, त्याे दृश्य देखाउने प्राेजेक्टर र त्यसलाई चलाउन भारतबाट आयात गरिएकाे जेनेरेटर र तेल। शहरले उपभाेग गर्ने यी सबै सेवा सुविधा एक दिन मात्रै देख्दा प्रकाशका उज्याला दृश्यसँगै मन धमिलाे हुँदै जान्छ।

कथा जहाँको हाे अर्थात् जहाँकाे कथामाथि फिल्म बनाइएको छ, त्यहीँका नागरिक माझ प्राय फिल्महरु पुग्दैनन्। आफ्नै कथामाथि बनेका फिल्मका दृश्यहरु राजधानीमा हुने प्रिमियर शाे र प्रदर्शनहरुका कारण दुरदराजले देख्न पाउँदैनन्। आफ्ना कथाहरु पर्दामा कस्ता छन् थाहा पाउँदैनन्। तर, प्रकाशले एउटा सुखद संयाेज जुरायाे, कथा जहाँकाे हाे त्यहीका नागरिकलाई सबैभन्दा पहिला फिल्म देखाउने।

जस अनुसार तिर्खु गाउँ आसपासका नागरिकले आफ्नाे कथा, आफ्नै लजव र भाषा शैलीमा आफूजस्तै देखिने पात्रले अभिनय गरेकाे देखे। याे सँगै फिल्म प्रकाशकाे वर्ल्ड प्रिमियर सम्पन्न भएकाे छ।

अध्याँराे ऋणमोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा प्राेजेक्टरकाे उज्यालोमा मख्ख स्थानीयले फिल्म हेरिसकेपछि भने, 'कथामा हाम्मै छाछाेरी जस्ताे केटाे छ, हाम्माे आम्नै कथा, हाम्मा आम्नै सुखदुःख छन्।'

फिल्म हेर्न खलङ्गादेखि चाैधबीसका थुप्रै स्थानीय डिल्लीचाैर पुगेका थिए। लाैराे टेक्दै आएका वृद्धवृद्धाहरु, काखमा छाेराछाेरी समातेका आमाहरुकाे भेलापछि १० बजे फिल्म सुरु भयाे। प्राेजेक्टरकाे मधुराे छायाँले आमाहरुकाे आँसु देखिएन। तर उनीहरुकाे सकुसुक प्रष्ट सुनिन्थ्याे। प्रकाशका पात्र उनीहरु जस्तै थिए। उनले भाेगेका दु:ख, कष्ट दुरुस्तै हुँदा उनीहरुले मन थाम्न सकेनन् सायद। त्यसपछि चाैधबीसकाे फाँटीलाे भूगाेल चिर्दै अघि बढेकाे जवा नदीकाे पानीमा मिसिए चाैधबिसे आमाहरुका आँसु।

स्थानीयसँगै स्थानीय जस्तै देखिइकन भूइँमा बसेर फिल्म हेरिरहेका थिए, अभिनेता प्रदीप खड्का र फिल्मका लेखक विकास सुवेदी। कसैले पनि प्रदिपलाई हिराे ठानेनन्। पछिल्लो समय युवा पुस्तामाझ चर्चित उनी हिराे देखिएनन्। एक गाउँले ठिटाे प्रकाश मात्रै देखिए। त्यसैले आमा र वृद्धअरु उनीतिर आँखा गाढेर भनिरहेका थिए, 'याे प्रकाश हाे।' अभिव्यक्तिले प्रष्ट्याउँथ्याे, 'याे सामान्य मान्छे हाे, हिराे हाेइन।'

उसाे त अभिनेता प्रदीप पनि आफूले आफैंलाई भुलिरहेका थिए। प्रकाश फिल्म सुटिङकाे क्रममा उनले गरेकाे साधनाले उनलाई त्यहीकाे स्थानीय बनाएकाे थियाे। उनकाे कला चेत थप बलियाे बनेकाे उनले बेलाबेला बताउँदै आएका छन्। 

जुम्लाको वर्ल्ड प्रिमियरमा 'प्रकाश' अर्थात प्रदिप त्यहीँका स्थानीयसँगै बसेर हेर्दा आफू त्यही गाउँको युवा भएको महसुस गरिरहेका थिए। फिल्म सुटिङका क्रममा गाउँलेहरुसँगकाे घुलमिलले उनी यतिबेला समेत स्थानीय जस्तै देखिए।

वर्ल्ड प्रिमियरका लागि जुम्लाकाे चाैधबीस क्षेत्रकाे तिर्खु पुगेका प्रदीप र विकासलाई स्थानीयले भव्य सम्मान गरेका थिए। त्यबेला उनीहरुकाे प्रतिक्रिया थियाे, 'हामी त आफ्नै गाउँ फर्केको जस्तो अनुभूति गरिरहेका छाैं। यहाँ पर्खेर बसेकाहरु आफ्नै बाआमाजस्तो, आफ्नै साथीभाइजस्तो लाग्नुभयाे। याे एक अविस्मरणीय क्षण बनेर मनमा गढिरहनेछ।'

गाउँलेहरुले पनि प्रतिक्रिया दिएका छन्, 'यो हाम्रो जीवनशैलीलाई दृश्यमा उनिएकाे कथा हाे। जसलाई सबैभन्दा पहिले हामीले हेर्न पाउनु साैभाग्य हो।' कतिपय गाउँलेहरुका घरमा अहिले पनि टिभी छैन। 'प्राेजेक्टरबाट फिल्म पहिलाे पटक हेर्नू त्याे पनि आफ्नै कथा। याे फरक खालकाे अनुभुती हाे,' कलाकार धनराज सुनारले भने।

याे सबै आफै अनुभूत गरिरहेका लेखक विकासले वास्तविक रुपमा जुुम्लाबासीकै कथा भन्न सकेकाेमा खुसी रहेकाे प्रतिक्रिया दिए। उनले भने, 'फिल्म सकिएपछि स्थानीयले दिएकाे प्रतिक्रियाले हामी धेरै हदसम्म सफल भएकाे महसुस गरिरहेका छाैं।'

फिल्मका निर्देशक दिनेश राउतले जुम्लाको कथा जुम्लीलाई पहिलो पल्ट देखाउन पाउँदा खुसी भएको प्रतिक्रिया विभिन्न संचार माध्यमबाट दिएका छन्। 

'जसको कथा हो, उसलाई पहिले देखाउँदा फिल्म कस्ताे बनेकाे छ उनीहरुको प्रतिक्रियाले थाहा दिन्छ। उनीहरुले नै यो कथा हाम्रो हो, होइन भनी टिप्पणी गर्नेछन्,' वर्ल्ड प्रिमियरका लागि जुम्ला राेज्नुकाे कारण बताउँदै उनले भने, 'उनीहरुले कथालाई आफ्नाे ठानेर अपनत्व लिन सकेकाे खण्डमा फिल्म प्रदर्शन गर्नलाई पनि ढुक्क भयो।'


 

प्रकाशित मिति: : 2022-08-23 14:38:00

प्रतिकृया दिनुहोस्