नागरिकता विधेयक सदनमै फर्केपछि माैन माओवादी !

नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरेको विषयमा तत्काल प्रतिक्रिया नदिने बताएका छन्। यसबारे पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने भएकाले तत्काल आफ्नो कुनै टिप्पणी नरहेको उनले प्रतिक्रिया दिएका हुन्।

उनले राष्ट्रपति भण्डारीको पत्र अध्ययन गरेर संविधानसम्मत ढंगले अघि बढ्ने पनि बताएका छन्।

प्रमुख सचेतक गुरुङले भने, ‘विधिको शासनमा विश्वास गर्ने भएकाले सबै कुरा संविधानसम्मत हुनुपर्छ भन्ने हो। राष्ट्रपतिले पनि संविधानको अक्षरश: पालना गर्नुपर्छ। विधेयक फिर्ताको विषयमा के गर्ने भन्ने पार्टीमा छलफल गरेर धारणा बनाउँछौं।’

राष्ट्रपतिले कुन दफा उल्लेख गरेर विधेयक फिर्ता गरेको हो त्यो प्रष्ट नभएकाले अहिले टिप्पणी गर्न नसक्ने उनको भनाइ छ।

‘समग्र प्रक्रियाका बारेमा प्रश्न उठाएको हो या कहाँ के नमिलेको हो भन्ने विषयमा प्रष्ट भएपछि मात्रै थप कुरा गर्न सकिन्छ’, गुरुङ्गले भने। तथापि सार्वभौम संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयक सामान्यतया: राष्ट्रपतिले रोक्न नमिल्ने उनले बताएका छन्।

संघीय संसद्को दुवै सदनबाट पारित भएर साउन १५ गते राष्ट्रपतिसमक्ष पेस भएको उक्त विधेयक १४ दिनपछि राष्ट्रपतिले हिजाे साँझ फिर्ता गरेकी हुन्। राष्ट्रपतिको उक्त निर्णयलाई लिएर माओवादी सुप्रिमाे पुष्पकमल दाहाल र शीर्ष नेता वर्षमान पुनले असन्तुष्टि जनाएका छन्।

प्रकाशित मिति: : 2022-08-15 07:30:00

प्रतिकृया दिनुहोस्