राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक सदनमै फर्काउने तयारी

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणिकरणको लागि शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फर्किने सम्भावना बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दस्तखत नगर्ने संकेत गरेपछि यो सम्भावना बढेको हो । 

राष्ट्रपति कार्यालयमा झन्डै दुई सातादेखि विचाराधीन विवादास्पद नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगर्न चौतर्फी दबाब बढेको छ। त्यसो त एमालेसहित नागरिक समाजका अभियन्ताहरूले विधेयक संसदमै फिर्ता पठाउन राष्ट्रपति भण्डारीसँग अपील गरेका छन्।

संविधानले राष्ट्रपतिलाई संसदबाट पारित भएको विधेयक १५ दिनभित्र पुनर्विचारका लागि संसद्मै फिर्ता पठाउन सक्ने अधिकार दिएको छ। ‘राष्ट्रपतिले नागरिकता संशोधन विधेयक पुनर्विचार गरियोस् भन्दै सदनमा फिर्ता गर्ने सम्भावना अत्यधिक छ’ राष्ट्रपति निकट स्रोतले भन्यो।

तर, केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भने विवादास्पद अध्यादेश राष्ट्रपतिले क्षरभरमा स्वीकृत गरेर जारी गरेकी थिइन्। राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने सम्भावना बढेको अनुमान गर्दै संसद अधिवेशन जारी राखिएको छ।

राष्ट्रपति भण्डारीले विचाराधीन विधेयकका विषयमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, कानुनमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग भेटवार्ता गरेकी छिन्। उनले दिउँसो पौने ४ बजेदेखि झण्डै ४५ मीनेटसम्म शीतल निवासमा छलफल गरेकी हुन्।

लगतै साँझ ५ बजेदेखि आधा घण्टासम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता भएको बालुवारनिकट स्रोतले जनाएको छ। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक रोक्नु र आम–निर्वाचन नजिकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

संविधानको धारा ११३ को उपधारा ४ ले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2022-08-14 09:48:00

प्रतिकृया दिनुहोस्