एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिहीबारको प्रतिनिधिसभाको बैठकमा अध्यादेश पेश हुने बताएका छन्।
सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बर्तौलाले भ्रष्टाचारसँग सम्बन्धित प्रतिवेदनहरुसमेत भोलिको संसदमा पेश हुने बताएका हुन्।
उनले भने, ‘अध्यादेश पारित हुने गरी पेश हुनेछ। विशेषगरी प्रतिपक्ष दलका नेताहरुले बोल्ने कुरा गर्नु भएको छ त्यो स्वभाविक कुरा नै हो। सुन्ने र विशेष समय लगायत केही विषय हुन्छन्। सरकारका तर्फबाट मान्य स्वास्थ्य मन्त्रीले केही विषयहरुमा छलफल राख्ने हाम्रो तयारी छ। केही महत्वपूर्ण विषयहरु र प्रतिवेदनहरु माथि छलफल हुनेछ। विशेषगरी भ्रष्टाचार सम्बन्धी प्रतिवेदन भोलिको संसदमा पेश गर्ने छौं।’
प्रमुख सचेतक बर्तौलाले शुक्रबार बसेको संसदको बैठकमा रास्वपाले मर्यादा भंग गरेको बताए। उनले यसरी मर्यादा भंग हुँदा नेपालको संसदको काम प्रक्रियाको बारेमा दुःखद चित्र बाहिर सार्वजनिक भएको बताए।
उनले भने, ‘विशेष गरी अस्तिको पहिलो बैठकमा हाम्रो के प्रचलन छ भने कतिपय कुराहरू संसदभित्र गर्दाखेरी कार्यव्यवस्थामा छलफल गर्ने र कार्य व्यवस्थामा छलफल हुन सकिएन भने सम्माननिय सभामुखज्यूलाई बैठक पूर्व नै कतिपय विषयवस्तुहरुका बारेमा जानकारी दिने हाम्रो संसदीय अभ्यास र परम्परा हो। तर पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट एकाएक जसरी उहाँहरुले संसदको बैठकमा उभिएर बैठकको मर्यादा भंग गरेको कुरा र सभामुखले पटकपटक रुलिङ गर्दा पनि त्यसलाई अस्विकार गर्ने, सभामुखको आदेशलाई नमान्ने जुन ढंगबाट प्रस्तुत भएको हामीले देख्यौं त्यसले नेपालको संसदको काम प्रक्रियाको बारेमा दुःखद चित्र बाहिर सार्वजनिक भएको छ।’