राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको विषय आजको संसद बैठकमा उठाउने र सभामुखले सुरुमै बोल्न नदिए सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ।
बुधबार बसेको संसदीय दलको बैठकले दर्जनौँ जिल्लामा सहकारी प्रकरणमा मुद्दा खेपिरहेका संस्थापक सभापतिको पक्षमा प्रतिनिधिसभा बैठकमा कुरा उठाउने निर्णय गरेको सचेतक निशा डाँगीले जनाइन्।
रास्वपाकी एक सांसदले बताएअनुसार सभामुख देवराज घिमिरे रास्वपाको सन्दर्भमा अनुदार देखिएको भन्दै आकस्मिक, शून्य, विशेषमा लामिछानेसहित संसदमा दर्ता भएका अध्यादेशको विरोध जनाउने र आफूहरूलाई बोल्न नदिए सदन अवरुद्ध गर्नेसम्मको तयारीमा जुटेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले संसदमा दर्ता गरेका ६ वटा अध्यादेश अस्वीकारको सूचनामा बोल्ने रास्वपा सांसदहरूको नाम पनि टुंगो लगाएको बताइएको छ।