मृत्युदण्डपछि म्यान्मारका विद्राेही समूहकाे चेतावनी– सैन्य शासन समाप्त पार्छाैँ (भिडियाे)

सुहन श्रेष्ठ

काठमाडाैँ

म्यान्मारकाे सैन्य 'जुन्ता'ले शनिबार चारजना प्रजातान्त्रिक कार्यकर्तालाई मृत्युदण्ड दिएपछि जननिर्वाचित सरकारदेखि सशस्त्र विद्राेही समूहले देशबाट सैनिक शासन समाप्त पार्ने चेतावनी दिएका छन्।

नागरिक सरकारका रूपमा चिनिएकाे राष्ट्रिय एकता सरकार (एनयूजी), दर्जनाैँ जातीय सशस्त्र विद्राेही समूह र अपदस्त राज्य सल्लाहकार आङ सान सुकी नेतृत्वकाे पार्टी नेशनल लीग फर डेमोक्रेसी (एनएलडी)ले तानाशाही सेनालाई जरैबाट उखेल्ने घोषणा गरेका हुन्।

संयुक्त घोषणा सभामा राष्ट्रिय एकता सरकारकाे संसदीय समिति, विद्राेही शक्ति करेन नेशनल यूनियन (केएनयू), करेन्नी नेशनल प्रोग्रेसिभ पार्टी (केएनपीपी), छिन् नेशनल फ्रन्ट (सीएनएफ), अल बर्मा स्टुडेन्ट्स डेमोक्रेटिक फ्रन्ट (एबिएसडिएफ) र नेशनल लीग फर डेमोक्रेसी (एनएलडी)ले पूर्ण एकताका साथ क्रूर सैनिक शासनविरूद्ध युद्ध–मैदानमा निरन्तर लड्ने जनाएका छन्।

म्यान्मारका सात मुख्य विद्राेही समूहकाे उक्त घोषणासँगै सैन्य 'जुन्ता' विरूद्धको एकीकृत जनक्रान्तिले नयाँ रूप लिएकाे बिएल नेपाली सेवाकी म्यान्मार संवाददाता सुधा अत्रिले बताएकी छिन्।

उनी भन्छिन्, 'स्वतन्त्रता र प्रजातन्त्रका 'प्रतीक' तथा पूर्वसांसद फ्यो जेया थाअ, दिग्गज कार्यकर्ता को जिम्मी, म्यो आङ र आङ थुरालाई सैनिक सरकारले फाँसी दिएपछि म्यान्माली जनता आक्राेशित बनेका छन्। जुन्ताको घिनलाग्दो रबैया देखेर स्वदेश तथा विदेशमा ‘म्यान्मालीप्रति थप चिन्ता’ व्यक्त गरिएको छ। राष्ट्रिय एकता सरकार र कयाैँ विद्राेही समूहले हातेमालाे गरेका छन्। त्यसकारण पनि 'कू'विरूद्धकाे आन्दाेलनले बर्मामा नयाँ रूप लिएकाे छ।'

जंगलमा लडिरहेका सशस्त्र समूहबाहेक नागरिक समाज सम्मिलित जनरक्षा बल र जातीय सशस्त्र समूहले पनि क्रान्तिलाई जतिसक्दाे चाँडो सफल बनाउन सैनिकविरुद्धको लडाइँलाई तीव्र बनाउने घोषणा गरेकाे छन्। 'जुन्ता'को पतन सुनिश्चित गर्ने घोषणा सभाको सूचीमा म्यान्मारका दुई शक्तिशाली जातीय सशस्त्र समूह कचिन स्वतन्त्र सेना (केआइए) र अरकान सेना (एए) भने सहभागी थिएनन्।

विद्राेही समूहकाे घोषणा सभामा केआइए र एए नआए पनि दुबै विद्राेही सेनाले म्यान्मार सेनाविरूद्ध प्रतिरोधी समूहसँग मिलेर लडाइँ गर्दैआएका छन्। तानाशाही सैन्य परिषद्ले चारजना प्रजातन्त्रवादी कार्यकर्तालाई शासन विरोधी संघर्षमा संलग्न भएको आरोपमा शनिबार जेलभित्रै मृत्युदण्ड दिएकाे थियाे।

म्यान्मार कानुनको पूर्ण उल्लङ्घन गर्दै हिरासतमा रहेका राजनीतिक बन्दीलाई सैन्य 'जुन्ता'ले बिना कारण झुण्ड्याउनु भनेको 'आतंकवादी शैली' भएको कैयाैँ मानवअधिकारकर्मीहरूले उल्लेख गरेका छन्।

डेढ वर्षअघि एउटा शान्तिपूर्ण प्रदर्शनका क्रममा १९ वर्षीय म्या थिवेट खिनेलाई टाउकोमा गोली हानी आतंक मच्चाएदेखि फासीवादी सेनाले निर्लज्जताका साथ दिनदिनै हजाराैँ नागरिककाे हत्या गरिरहेकाे छ।

म्यान्मारका सात मुख्य विद्राेही समूहले 'राजनीतिक दल र क्रान्तिकारी शक्तिलाई एकजुट भएर म्यान्माली फासीवादी व्यवस्थालाई जरैदेखि उखेल्न अपील गरेका छन्।

सैन्य सरकारले शान्तिपूर्ण आन्दाेलनलाई अस्वीकार गर्ने आफ्नो दृढ संकल्पलाई निरन्तर प्रमाणित गरेको भन्दै विद्राेही समूहले अन्तर्राष्ट्रिय मानवअधिकार संगठनलाई आतंकवादी शासनविरुद्ध ठोस कारबाही गर्न आग्रह गरेका छन्।

सैन्य सरकारले बालबालिका, विद्यार्थी, राजनीतिक कार्यकर्ता, जननिर्वाचित सांसद, चिकित्सक र शान्तिपूर्ण प्रदर्शनकारीसहित कम्तिमा दुई हजारभन्दा बढी म्यान्माली नागरिककाे हत्या गरेको छ।

म्यान्मारबाट सुधा अत्रिकाे सहयाेगमा

प्रकाशित मिति: : 2022-07-27 22:00:00

प्रतिकृया दिनुहोस्