अँध्यारैअँध्यारो बर्मा

सुधा अत्रि

रंगुन, म्यान्मार
Photo: Breaknlinks and Agencies

म्यान्मार सेनाले अघिल्लो वर्ष आजैका दिन आंशिक प्रजातन्त्र खोसेर ‘सैन्य शासन’ लागू गर्‍याे। सत्ता हत्याएपछि सैन्य शासनकाल यता म्यान्मारमा मानवअधिकार विरूद्धका घटना व्यापक रूपमा बढेका छन्।

के छैन म्यान्मार अर्थात् पुरानो बर्मामा? सबथोक छ। तर शान्ति र स्वतन्त्रता छैन। बर्माको ग्रामीण–शहरीक्षेत्रका बासिन्दाहरूको जीवन उज्यालो छैन। उनीहरू एकवर्षदेखि कहालीलाग्दो कुहिँरोभित्र हराइरहेका छन्।

म्यान्माली नागरिक वर्षौदेखि अँध्यारैअँध्यारो सत्रमा बाँचिरहेका छन्। टोल–टोलमा सेनाको आतंक छ। मन–मनमा त्राशै–त्राश। युवा शरिरहरू गोली पर्खेर बसेका छन्। सरकारले हर–समय बन्दूक ताकिरहेको छ। शासकले बम–बारुद्ध बर्साइरहेको छ।

गाउँ–घरमा बस्न सक्ने अवस्था छैन। दिनदिनै सरकारी सेनाको बर्बर आतंक हुन्छ। बन्दूक बोकी घर–घरमा छिरेर सेनाका जवानहरूले निर्दोष म्यान्मालीलाई यो वा त्यो नाममा आतंकित पार्छन्।

म्यान्मालीहरू अँध्यारै–अँध्यारो सुरूङभित्र बाँचिरहेको एकवर्ष पुगिसकेको छ। यो समय– म्यान्मालीहरूका लागि निकै चुनौतीपूर्ण र कठिन रह्यो। तनाब उस्तै छ। सैन्य आतंक अझै झन्–झन् छ।

स्वतन्त्रताको पक्षमा वकालत गर्दा हजारौँ प्रजातन्त्रवादीहरू मारिएका छन्। हजारौँ–हजार अंग–भंग छन्। लाखौँ परिवारहरू विस्थापित भएका छन्। भारत–थाइल्याण्ड र कतिपय नेपालसम्मै पुगेको जानकारी छ।

प्रजातन्त्रको पक्षमा बोल्दा कैयौँ युवा–युवती कुटिएका छौँ। पिटिएका छौँ। तर पनि कू–को विरोधमा सडकभर उत्रिएका छौँ। यो आन्दोलनको अग्रपंक्तिमा बीर गोर्खाली अर्थात् नेपालीभाषीहरू पनि दिनरात नभनी युद्ध–मैदानमै छौँ। प्रदर्शनकै क्रममा दर्जनौँ नेपालीहरूले ज्यान गुमाइसक्नुभएको छ। 

आन्दोलनको क्रममा निभ्नुभएका गोर्खालीसहित सबै–सबै म्यान्माली शहीदहरूप्रति क्रान्तिकारी सलाम छ। 

हामी म्यान्मालीहरू एकवर्षदेखि स्वतन्त्रता प्राप्तिको लागि पिल्सिरहेका छौँ। एकातिर विश्व महामारी कोरोना आतंक छ। अर्कोतर्फ सैन्य कू–को बर्बता। म्यान्मारका लागि यी दुबै कुरा थेगिसक्नु छैन। योसँगै बर्माको अँध्यारै–अँध्यारो दौड कायमै छ।

जुन्ता प्रशासनको अत्याचारले सबैभन्दा बढी म्यान्मारको युवा पुस्ता पेलिएको छ। भविस्यमाथि बन्दूकका छर्राहरू छन्। सबैभन्दा मूख्य कुरो स्वतन्त्रता नै छैन। 

सेनाले बिर्सिएका गोर्खाहरू

सेनाभित्र गर्वलाग्दो इतिहास बनाएका गोर्खा अर्थात् नेपालीहरू म्यान्मारमै आधा शताब्दी बिताइसक्दा पनि पूर्ण नागरिकको सेवा–सुविधाबाट बन्चित छन्। अघिल्लो प्रजातान्त्रिक सरकार र वर्तमान ‘सैन्य–जुन्ता’ले उनीहरूको योगदान बिर्सेको बर्मेली–नेपालीहरू बताउँछन्।

म्यान्मारमा अनुमानित तीन लाख नेपालीभाषीहरू बसोबास गर्दैआएका छन्। यीमध्ये अधिकांशका आफन्तहरू उन्नइसौं शताब्दीमा यहाँका विभिन्न भेगमा बसाइँ सरेका थिए। ब्रिटिस शासन कालमा दोस्रो विश्वयुद्धको दौरान गोर्खा ब्रिगेडले पटकपटक बहादुरीका प्रदर्शन गर्दा दर्जनौं पदकहरू जितेको इतिहास जिवितै छ।

गोर्खा जवानहरूले  सन् १९४८ मा ब्रिटिशबाट स्वतन्त्रता प्राप्त गर्न बर्मी स्वतन्त्रता सेनानीहरूसँग साझेदारको रूपमा लडे।

म्यान्मारको स्वतन्त्रताको शुरुवातदेखि नै कार्यान्वयनमा रहेको सन् १९४७ को संविधानमा नेपालीभाषीलाई बर्मी नागरिकको रूपमा पूर्ण अधिकार दिइएको थियो। तर सैन्य तानाशाही सत्तामा आएपछि नेपालीभाषीलाई देशको आधिकारिक जातीय समूहको रूपमा वर्गीकृत गरिएन। लगतै, उनीहरूले प्रतिबन्धहरूको सामना गरे।

म्यान्मार सैन्य शासकका कारण भेदभावको जरा निक्कै गहिरो भएको गोर्खाली नेताहरू बताउँछन्। 


सैन्य 'कू'विरुद्ध दाैरा-सुरुवाल लगाएरै सडकमा उत्रिए बर्मेली-नेपाली


नेपालीभाषीहरू काचिन, छिन, शान, रंगुन र मण्डले डिभिजनसहित बर्माभर छरिएर बस्छन्। अधिकांश हिन्दू वा बौद्ध धर्म मान्छन्।

‘हामी नेपालमा जन्मेका होइनौँ। हामीहरू नेपाली भाषा अलिअलि जान्छौँ। सरकारले भाषाको मान्यता दिएको छैन। हाम्रो मनमा नेपाली पन भएपनि म्यान्मा जन्मेका हौँ,’ कचिन प्रान्तका एक ३३ वर्षीय युवक भन्छन्, ‘हामी नेपाली होइनौँ। तर हाम्रो पूर्खा पक्कै पनि नेपाली हुन्।’ 

याे म्यान्मार, त्याे बर्मा

म्यान्मारको युवा शक्ति सैनिक शासन फाल्न सशस्त्र संघर्षमा लागि नै रहेको छ। शान्तिपूर्ण आन्दोलनमाथि सरकारको क्रूर दमनपछि युवा–पुस्ता युद्ध मैदानमा उत्रिएको एकवर्ष पुग्यो। सैन्य सरकारको विकल्प मानिने राष्ट्रिय एकता सरकारले पीपुल्स् डिफेन्स फोर्सको गठन–लगतै ठाउँ–ठाउँमा सैन्य प्रशिक्षण छ।

तानाशाही सैनिक सत्ताविरूद्ध लड्नका लागि युवाहरूको ठूलै जमात उत्साहपूर्वक आ–आफ्नो स्थानमा खडा भएको छ। स्वतन्त्रता खोसिएका बर्मेलीहरू ज्यानै जोखिममा राखेर युद्धभूमिका खटिएका छन्।

सन् १९६२ ताका तत्कालीन सैन्य ‘कू’का नाइके ने विनका पालादेखि नै म्यान्मारमा यो प्रथा जारी छ। त्योबेला गाउँ–घरमा बस्न सक्ने अवस्था नै थिएन। कारोबार बन्द हुँदा कैयौं मानिस अप्ठेरोमा परे। घरभरि धानको भकारी हुँदाहुँदै जाँतो–ढिक्कि चलाउन नदिँदा कतिपय भोकभोकै मरे। कतिले छोराछोरी बेचेर ज्यान पाले भने कतिले खुन बेचेर धाने। म्यान्मारमा सरकारी सेनाको बर्बर आतंक हिजो पनि उस्तै थियो। र, आज पनि उस्तै छ। 

आतंकको अन्धकार पन्छाएर पूर्ण प्रजातन्त्र ल्याउन म्यान्मालीहरू पटकपटक प्रयासरत छन्। सन् १९७६ ताका विश्वविद्यालयका विद्यार्थीहरूमा क्रान्तिका भावहरू सल्बलाएको सेनाले पत्तो पाएपछि विश्वविद्यालय परिसमै सेनाको गोलीद्घारा ढलेका थिए। दिनदिनै मानिस मारिएपनि क्रान्ति भुसको आगो झैं फैलिरहेको थियो। त्यो आन्दोलन आजपनि विद्यार्थीहरूको अग्रसरतामा देशव्यापी रूपमा चलिरहेको छ। 

विद्यार्थीहरूको त्यहि चर्को आन्दोलनले स्थापित गरेकी नेत्री हुन्– आङ सान सुकी। उनले आफ्ना बुबाले देखेको सपना पूरा गर्ने बाचा गर्दै ज्यानै जोखिममा राखेर प्रदर्शनमा उत्रिइन्।

नेत्री सुकीसँगै नेपाली नाच–गान लिएर गाउँ–गाउँ पुगी नेपालीहरूको मन जित्दै, आन्दोलनमा सहभागी बनाउँदै हिँड्ने गोर्खा नेता हुन्– रक्की थापा। उनी आज यो संसारमा छैनन्।

सैन्य शासकको त्राशले लामो उर्जाशील जीवन नेपालमा बिताएका उनी यसैवर्ष बिते। एक समय यस्तोसम्म थियो– चुनाव प्रसारको भाषण सुनेर सुकी आफै थापालाई भेट्न रंगुनसम्मै पुगेकी थिइन्।

सुकी–थापा भेटपछि चुनावमा नेपालीभाषीलाई भोट माग्ने जिम्मा उनै रक्की थापाले पाएका थिए। सन् १९९० मा नेत्री सुकीलाई गृहबन्दीमा राखियो। बेलायतको सुन्दर परिवार त्यागीन तर म्यान्मार त्यागीनन्। उनी आजपनि सैन्य नजरबन्दमै छिन्।

प्रकाशित मिति: : 2022-02-01 19:06:00

प्रतिकृया दिनुहोस्