म्यान्मार सेनाविरूद्धकाे युद्ध मैदानमा युवतीहरू

सुधा अत्रि

रंगुन, म्यान्मार
RFA

म्यान्मारकाे प्रजातन्त्रवादी नागरिक समूहले सैनिक–सत्तासँग भिड्न पहिलाेपटक महिला मिलिसिया दस्ता गठन गर्ने प्रयास गरेकाे छ।

विद्यार्थी, शिक्षक, किसान र मजदुर–युवतीहरू सम्मिलित देशकै पहिलाे महिला मिलिसिया दस्ता गठन गरेकाे अधिकारीहरूले बताएका छन्।

निर्वाचित सरकारलाई राजनीतिक 'कू' गरी सैनिकले शासन चलाएपछि गत फेब्रुअरी यता उनीहरूले जुन्ताविरूद्ध प्रर्दशन कायमै राखेका छन्।

उच्च माध्यमिक विद्यालय छाडेर १६ वर्षीया हेराले मिलिसिया दस्ताकाे नेतृत्व गरेकी छन्। म्याउङ वुमन गुरिल्ला समूहमाथि सेनाले बारम्बार आक्रमण गरेको देखेपछि सेनाविरूद्ध युद्ध मैदानमा उत्रिएकाे उनले बताइन्।

म्यान्माली गाउँ–गाउँमा सैनिकहरू आइपुग्दा स्थानीयहरू घर छोड्नुपर्ने अवस्था अहिले पनि उस्तै छ। १६ वर्षीया हेराले भनिन्, 'शरणार्थी शिविरकाे अवस्था देख्दा दुःख लाग्छ। यसले मलाई लड्न उत्प्रेरित गर्याे। मलाई कुनै डर छैन।'

लोकतन्त्रको लागि लड्न तयार रहेकाे उनकाे भनाइ छ।

सेनाले म्यान्मारको दुर्गम सीमावर्ती क्षेत्रमा आक्रमण गरिरहेकाे छ। जातीय सेना र पीपुल्स् डिफेन्स फोर्स (पीडीएफ)का मिलिसियाहरूले कतिपय प्रान्तमा नियन्त्रण कायमै छन्।

सैनिक लडाकूहरूले नियमित रूपमा गाउँमा छापा मार्ने, लुटपाट गर्ने र घरहरू जलाउने र नागरिकहरूलाई आक्रमण गर्ने काम गरिरहेका छन्।

हेराले भनिन्, 'हामी जनतालाई देखाउन चाहन्छौं कि हाम्रा हातहरू पनि सैन्य शासनको सशस्त्र प्रतिरोध गर्न सक्षम छन्।'

प्रकाशित मिति: : 2021-12-05 08:13:00

प्रतिकृया दिनुहोस्