म्यान्मारमा दिइएको मृत्युदण्डको विरोधमा नेपालमा प्रदर्शन (फाेटो फिचर)

शनि शाक्य

काठमाडौं

म्यान्मारको सैन्य ‘जुन्ता’ले चारजना प्रजातन्त्रवादी राजनीतिक बन्दीलाई मृत्युदण्ड दिएपछि मानवअधिकारवादी संस्थाले त्यसको निन्दा गरेका छन्।

क्रूर शासकको मानवता विरोधी हर्कत रोक्न नेपाल मानवअधिकार संगठनले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

संगठनले मंगलबार संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय पुल्चोक अगाडि प्रदर्शन गरेको छ। म्यान्मार ‘जुन्ता’ सरकारको मृत्युदण्डजस्तो कायर एवं निन्दनीय कार्यको भर्त्सना गर्दै यूएन हाउस पुल्चोक अघि मानवअधिकारकर्मीहरू धर्ना बसेका छन्।

उनीहरूले सैनिक सरकार अन्त्य गरी लोकतन्त्र पुनःस्थापना गर्न माग गरेका छन्। म्यान्मारमा भित्रिएका हतियार तत्काल प्रतिबन्ध लगाउन विश्वव्यापी रूपमा अधिकारकर्मीहरूले आह्वान गरेका छन्।

नेपाल मानवअधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्यले संयुक्त राष्ट्रसंघलाई म्यान्माली निर्दोष जनताको जीवन रक्षाका लागि प्रभावकारी कदम चाल्न अपील गरेका छन्।

सन् १९८८ मा सैन्य शासनविरूद्धको विद्रोहका एक दिग्गज कार्यकर्ता को जिम्मी र लोकप्रिय कलाकार तथा पूर्वसांसद फ्यो जेया थाअलाई जनअभियानमा लाग्दा शासकले फाँसी दिएको छ।

जिम्मी र थाअसहित ह्ला म्यो आङ र आङ थुरा जअलाई म्यान्मारमा ‘आतंकारी गतिविधि’ गरेको आरोप लगाइएको थियो। सेनाको घिनलाग्दो रबैया देखेर स्वदेश तथा विदेशमा ‘म्यान्मालीप्रति थप चिन्ता’ व्यक्त गरिएको छ।

नेपाली मानवअधिकारकर्मीहरूले म्यान्मारको मृत्युदण्डलाई ‘चरम क्रूरता’ को संज्ञा दिएका छन्। मृत्युदण्डको विरोध गर्दै उनीहरूले हरेक नागरिकको बाँच्न पाउने अधिकारप्रति शासक वर्ग गम्भीर बन्न आग्रह गरेका छन्।

प्रदर्शनमा नेपाल मानवअधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्य, वरिष्ठ मानवअधिकारकर्मी प्रदीप पोखरेल, सुशिल प्याकुरेल, वरिष्ठ मानवअधिकारकर्मी तथा वरिष्ठ पत्रकार कनकमणि दीक्षित, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी पद्मिनी प्रधानाङ्गलगायत अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2022-07-26 13:48:00

प्रतिकृया दिनुहोस्