गाउँमा गाडी जाने सडक छैन, बाटैमा बच्चा जन्माउन बाध्य छन् सुत्केरी आमा 

दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी हो। तर राजधानी भित्रका नागरिकको पीडा भने कहालीलाग्दो छ।

राप्ती गाउँपालिकामा ९ वटा वडा छन्। जसमध्ये वडा नं ९ विकट वडा हो। यस वडाका नागरिक आधारभूत आवश्यक्ताबाट समेत बञ्चित छन्।

जसले गर्दा एउटा सुत्केरी आमाले बाटाेमै बच्चा जन्माउनु परेको छ। योभन्दा अर्को कहालीलाग्दो घटना के होला?

शुक्रबार वडा नं–९ चिसापानीकी १९ वर्षीया देवकला बुढाले बाटैमा बच्चा जन्माउन बाध्य भएकी हुन्।

बुढालाई शुक्रबार बिहान सुत्केरी बेथा लाग्यो। परिवार र आफन्तले गाउँबाट करिब २० किलोमिटर टाढा रहेको प्रस्तावित भालुवाङ अस्पताल लग्ने तयारी गरे। तर कसरी? प्रश्न थियो। गाउँमा सडक भएपनि सडकमा गाडी गुड्न सक्ने अवस्था छैन।

अनि घर परिवारले बोकेरै भएपनि अस्पताल पर्याउने योजना बनाए। बिहान करिब ११ बजे परिवार र आफन्तले देवकलालाई डोलामा राखेर अस्पताल लग्दै थिए। सीमसीमे पानी पनि परिरहेको थियो। देवकलालाई बेथाले झन् पछि झन् च्याप्दै गयो।

अन्तत: अस्पताल पुर्याउन नपाउँदै देवकलाले ११ः४० बजेको समयमा बीच बाटोमै बच्चालाई जन्म दिइन्। बच्चा त जन्मियो, अब अस्पतालसम्म कसरी पुर्याउने भन्ने चिन्ता परिवार र आफन्तलाई पर्यो। गाउँ नजिक नवनिर्वाचित राप्ती गाउँपालिका वडा नम्बर २ की वडा सदस्यसमेत रहेकी स्वयमसेविका पिमा गाहा मगर पनि साथमा थिइन्।

उनैको पहलमा जसोतसो पानीमा भिज्दै १२ः१५ बजेको समयमा भालुवाङ अस्पताल पुर्याए। त्यहाँ आमा र बच्चाको स्वास्थ्य परिक्षण गरियो। धन्न आमा र बच्चाको अवस्था सामान्य थियो। बच्चाको तौल ३ किलो रहेछ।

आमा भने सानै उमेरमा विवाह गरेका कारण र अस्पतालसम्म बेलामै पुर्याउन नसक्दा रगत अलि बढी बगेको अस्पतालका सिनियर अहेव भुवन भण्डारीले जानकारी दिए। उनको अवस्था सामान्य भएपछि अस्पतालले बेलुका ६ः१५ बजे डिस्चार्ज गर्यो। देवकलाले यो दोस्रो सन्तानको रुपमा बच्चा जन्माएकी हुन्।

देवकलाले जस्तो अर्को पटक सुत्केरी आमाले दुःख पाउँदैनन् : अध्यक्ष विष्ट

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडा नं ९ का सुत्केरी आमाहरुले अर्को वर्षबाट देवकलाले जस्तो दुःख नपाउने बताए।

उनले ९ नम्बर वडामा अघिल्लो सरकारले बाटोको स्तरउन्नति गर्न नसकेको भन्दै आफूहरु आइसकेपछि अब बाटोको स्तरउन्नति गरिने र अर्को वर्षबाट एम्बुलेन्स सेवा सञ्चालन गरिने बताए।

वडा नं ९ मा एउटा स्वास्थ्य इकाई रहेको छ। तर सबैलाई पायक पर्ने स्थानमा छैन। फेरि अर्को स्वास्थ्य ईकाई स्थापना गर्नका लागि यस वर्ष आफूहरुले १० लाख रुपैयाँ बजेट छुट्याएको उनले जानकारी दिए।

‘वडा नं–९ मा २०६४ सालमा खोलिएको सडक हुन। अघिल्लो सरकारले बाटो बनाउन ध्यान दिएन, स्वास्थ्य इकाई बनाउन ध्यान दिएन,’ अध्यक्ष विष्टले भने, ‘हामी भर्खर आएका छौँ, अर्को स्वास्थ्य चौकी स्थापना गर्छौँ र सडकको स्तरउन्नति गरेर वर्षायाममा एम्बुलेन्स सेवा सञ्चालन गर्ने काम गर्छौँ।’

दाङमा यस्ता बस्ती अरु पनि छन्

देवकला जस्तै आधारभूत सेवा नपाएका दाङका कयौँ बस्तीहरु रहेका छन्। दाङमा घोराही र तुलसीपुर उपमहानगरपालिका छन्। यी उपमहानरपालिका भित्रैका कयौँ बस्ती आधारभूत सेवा सुविधाबाट बञ्चित रहेका छन्।

घोराहीको १९ नं वडासँगै, ५, १ का केही बस्तीहरु वर्षायाममा गाडी गुड्न सक्ने अवस्था छैन। तुलसीपुरको पहाडी भेगसँगै, शान्तिनगर, बबई गाउँपालिका बस्तीहरु पनि आधारभूत सेवासुविधाबाट बञ्चित रहेको अवस्था छ।

देउखुरी क्षेत्रको राजपुर, गढवाको भारतीय सीमा क्षेत्रसँग जोडिएका बस्तीहरु पनि विभिन्न आधारभूत सेवासुविधाबाट बञ्चित छन्। तर सरकारको ध्यान खासै पुग्न सकेको छैन।

प्रकाशित मिति: : 2022-07-23 14:26:00

प्रतिकृया दिनुहोस्