त्रियुगाका मेयरले ५९ जना कर्मचारी हटाए, कर्मचारीद्वारा आन्दोलनको चेतावनी

उदयपुरको त्रियुगा नगरपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेका ५९ जना करारका कर्मचारीलाई हटाएको छ। त्रियुगा नगरपालिकाले ५९ जना पालिका मातहतमा रहेका करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो।

नगरपालिकाको चालु खर्चको व्ययभारलाई कम गर्नका लागि भन्दै नगरका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको करार अवधि थप नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पुरूषोतम ढकालले जानकारी दिएका छन्।

२०७९ असार ३१ गतेको नगर प्रमुख स्तरीय निर्णय आदेशानुसार सेवा करार/ज्यालादारी कर्मचारीहरूको म्याद थप नहुने सूचना जारी गरेको हो।

यस्तै नगरपालिकाबाट निष्काशित भएका कर्मचारीहरू आन्दोलित भएका छन्। नगरपालिकाको कार्यपालिकाको वैठक भित्रका कुनै पनि जनप्रतिनिधिसंग छलफल नै नगरी ५९ जना कर्मचारीहरूलाई कुनै जानकारी विना हटाइएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

के–कति कारणले गर्दा म्याद थप नहुनेसम्मको कारण समेत नखुलाई हामीलाई राजनैतिक पूर्वाग्रह राखेर नगर प्रमुख बसन्तकुमार बस्नेतको एकल निर्णयले निष्काशन गरेको भन्दै उनीहरूले विज्ञप्तीमार्फत विरोध जनाएका छन्।

नगरपालिकाभित्र नगर उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई समेत जानकारी नदिई एकल ढंगले छलफल नगरी गरिएको यस किसिमको निर्णय वैधानिक नरहेको हुदाँ यस बिषयमा पुनःविचार गर्नुपर्ने आवश्यक्ता रहेको विज्ञप्ती उल्लेख छ।

नगरपालिकाको वृत्तिविकासमा हामी निरन्तर आफ्नो क्षेत्रबाट काम गर्दै आएका छौँ, हामी नगरपालिकाबाट निकालिनु पर्ने कुनै कारण छैन्, राजनैति पूर्वाग्रह, व्यक्तिगत रिसिवि राखेर यस किसिमको निर्णय गरेको पाइएको छ। त्यस कारण नगरपालिकाले गरेको निर्णय अविलम्व फिर्ता लिन जोडदार माग गर्दछौ, यदि हाम्रो माग संबोधन नगरीए वा वेवास्ता गरिए हामी चरणबद्ध रूपमा संघर्षको कार्यक्रम गर्दै अघि बढ्ने र कानुनी प्रक्रिया समेत अघि बढ्ने विज्ञप्तीमा उललेख गरिएको छ।

प्रकाशित मिति: : 2022-07-17 18:28:00

प्रतिकृया दिनुहोस्