श्रीलंका जलाएर माल्दिभ्स भागेका 'राजपक्षे' बुधबार राती सिङ्गापुर पुगे

बिएल संवाददाता

कोलम्बो, श्रीलंका
AP Images
AP Images

श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजपक्षे माल्दिभ्सबाट सिङ्गापुर पुगेका छन्।

उनी बुधबार कोलम्बोबाट माल्दिभ्स भागेपनि एक दिन पूरै नबसी राती नै सिङ्गापुर उडेका छन्।

देशभित्र असुरक्षा भएको भन्दै श्रीलंका छाडेर भागेका राजपक्षेलाई भाग्नका लागि सेनाले नै सहयोग गरेको छ। सेनाकै सहयोगमा उनी सबेरै कोलम्बोबाट माले पुगेका हुन्।

यसअघि उनकै अर्का भाइ तथा पूर्वअर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको थियाे।

तत्कालीन राष्ट्रपति राजपक्षेलाई भने रक्षा मन्त्रालयको आदेश र स्विकृतीमा माल्दिभ्स लगिदिएको श्रीलंकाको सेनाले जनाएको छ। सेनाले आफू खुशी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ।

राजपेक्षसँगै उनकी श्रीमती र दुई अङ्ग रक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका थिए। उनीहरू चारै जनालाई श्रीलंकाको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तरराष्ट्रिय विमानस्थल माले लगिएको थियो।

राजपक्षले देश छाडेको खबरले थप आक्रोशित प्रदर्शनकारीद्वारा हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलंकामा अहिले आपतकालीन अवस्थाको घोषणा गरिएको छ।

प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपतकालीन अवस्थाको घोषणा गरेका छन्।

सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कफ्‌र्यु पनि लगाइएको छ।

प्रधानमन्त्री विक्रेमेसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको जनाइएको छ।

विक्रमासिङ्घेले दङ्गा मच्चाउनेलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिएकाे श्रीलंकाको डेली मिरर पत्रिकाले जनाएको छ।

तर श्रीलंकाको विपक्षी दलका नेता सजिथ प्रेमादासले भने प्रधानमन्त्री विक्रमासिङ्घेले राष्ट्रपतिको अधिकार प्रयोग गर्न नपाउने दावी गरेका छन्। प्रधानमन्त्रीले आपतकाल घोषणा गर्न नमिल्ने पनि उनको भनाई।

प्रधानमन्त्रीलाई राष्ट्रपतिले कार्यवाहक राष्ट्रपति नियुक्त गरेमा मात्रै दीर्घकालीन असर नपर्ने गरी कामचलाउ काम मात्रै गर्न पाउने उनको तर्क छ।  

प्रधानमन्त्रीले पनि राष्ट्रपतिको अधिकार र जिम्मेबारी पाए झैँ काम गर्नु संविधानको दुरुपयोग भएको उनले दावी गरेका छन्।

प्रकाशित मिति: : 2022-07-14 05:35:00

प्रतिकृया दिनुहोस्