इलामका चार स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी

File photo
File photo

जिल्लाका चुलाचुली र माईजोगमाई गाउँपालिकामा विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरेको छ।

दुई स्थानीय तहले भर्खरबाट यो सेवा सुरु गरेका हुन्। यो सेवाले सेवाग्राहीलाई लाइनमा बसेर भुक्तानी गर्नुपर्ने समस्या समाधान भएको छ। 

सेवा सुरु भएपछि गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिने सेवाग्राहीको बैंक खातामा हुने गाउँपालिकाले जनाएको छ। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत गरिएको जनाइएको छ।

यो सेवाका लागि सेवाग्राहीको चेकको फोटोकपी अनिवार्य चाहिने भएको छ। महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देशन गरिसकेको छ।

यस गाउँपालिकामा परीक्षणका रुपमा विद्युतीय भुक्तानी सेवा सुरु भएको हो। परीक्षणका रुपमा केही सेवाग्राहीको खातामा अनलाइन भुक्तानी गरिरहेको भए पनि साउनदेखि अनिवार्य गरिने भएको छ। विद्युतीय भुक्तानी सेवालाई अनिवार्य गरेपछि उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य हुने छ।  

माईजोगमाई गाउँपालिकाले पनि यो सेवा सुरु गरेको छ। विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्नमा सघाउ पुग्ने प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीको भनाइ छ। 

विद्युतीय भुक्तानी प्रणाली सुरु भएपछि चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि गाउँपालिका धाउनुपर्ने समस्याको समेत अन्त्य हुनेछ। जिल्लाको देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाले यसअघि नै विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरिसकेकाे थियाे।

 

प्रकाशित मिति: : 2022-07-06 16:02:00

प्रतिकृया दिनुहोस्