सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा पनि बढेको हाे।
यातायात व्यवस्था विभागका अनुसार अन्तर प्रदेश यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको हो।
यसअघि जेठ ११ गते यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो। अहिले यात्रुबाहकको भाडा २.५ प्रतिशतले बढेको विभागले जनाएको छ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो। निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो।
विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ। प्रदेशहरूले यसै आधारमा छोटो दूरीको सवारी भाडा बढाउनेछन्।